लोकतन्त्रबारे जनतालाई बुझाउन सकिएन : महासचिव पोखरेल

NepalOne १८ जेठ २०८२ १९:५०
राजनीति

काठमाडौँ, १८ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले लोकतन्त्रबारे जनतालाई बुझाउन नसकिएको बताउनुभएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रलाई आज यहाँ सम्बोधन गर्दै महासचिव पोखरेलले लोकतन्त्रले नेपाली समाज परिवर्तनका लागि गरेको सहयोगबारे जनतालाई बुझाउन नसकिएको बताउनुनभयो । “लोकतन्त्रले नेपाली समाज परिवर्तनका लागि ठूलो सहयोग गरेको छ, तर त्यो कुरा हामीले जनताको माझमा जुन हिसाबले पु¥याउनुपर्ने थियो, त्यस हिसाबले पु¥याउन सकेका छैनौँ,” उहाँले भन्नुभयो ।

महासचिव पोखरेलले नेपाली राजनीतिमा जनताको बलिदानबाट स्थापित लोकतन्त्र र गणतन्त्रमाथि नै अनास्था र अविश्वास हुने हिसाबले चर्चा गर्न थालिएको उल्लेख गर्दै लोकतन्त्रले केही दिएन, बरु योभन्दा राजतन्त्र नै ठीक थियो भन्ने हिसाबले समेत प्रचार गर्ने प्रयत्न भएको बताउनुभयो । उहाँले संयुक्त सरकार चलाउनु पर्दा आफ्ना विचार र दृष्टिकोण पूर्ण रुपमा लागू गर्न नसकिने उल्लेख गर्दै अहिले दुई दल मिलेर सरकार चलाइरहँदा एकल सरकार चलाएजस्तो सहज नभएको बताउनुभयो ।

अहिले दुई ठूला दलको सरकार बनेपछि देशको आर्थिक क्षेत्रमा उल्लेख्य सुधार भएको महासचिव पोखरेलले बताउनुभयो । उहाँले सीमित जनशक्ति र साधनस्रोतका बीचमा पनि नेपालको स्वास्थ्य क्षेत्रले सामाजिक विकासमा पु¥याएको योगदान महत्वपूर्ण भएको बताउनुभयो । नेपाली समाजलाई पछाडि फर्काउने मनसाय बोकेर केही शक्ति भ्रमको खेतीमा लागेका उहाँको आरोप थियो । नेपालको आर्थिक, सामाजिक विकास, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा एमाले नेतृत्वमा हुँदा निकै सुधार भएको महासचिव पोखरेलले बताउनुभयो ।

राज्यलाई कमजोर बनाएर देश र नागरिक कहिल्यै पनि बलिया हुन नसक्ने उल्लेख गर्दै उहाँले बलियो राज्यले मात्र देश र जनताको सुरक्षा गर्न सक्ने कुरालाई भुल्न नहुने बताउनुभयो । महासचिव पोखरेलले पार्टीभित्र पनि अराजकतावाद र अवसरवाद मौलाउँदै गएको धारणा राख्नुभयो । आजसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने महासङ्घका अध्यक्ष डा झलक शर्मा गौतमले जानकारी दिनुभयो ।


प्रतिक्रिया