छानबिनको परिणाम नआएसम्म गृहमन्त्रीले राजीनामा दिएर सहयोग गर्नुपर्ने विपक्षी दलको निष्कर्ष


काठमाडौं । भिजिट भिसा प्रकरणमा विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामाको मागलाई यथावत राखेका छन् ।
संसद भवनमा बसेको माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीको संयुक्त बैठकले गृहमन्त्रीको राजीनामाको माग यथावत राख्ने निर्णय गरेको हो । छानबिनको परिणाम नआएसम्म गृहमन्त्रीले राजीनामा दिएर सहयोग गर्नुपर्ने बैठकले निष्कर्ष निकालेको नेताहरुले बताएका छन् ।
उच्चस्तरीय छानबिन समिति बनाउने र त्यो समितिले वैदेशिक रोजगार ऐन, २०६४ आएपश्चातको समयदेखि हाल रहेका गृहमन्त्रीको कार्यकालसम्मको ‘भिजिट भिसा प्रकरण’ सम्बन्धित छानबिन/आयोग बनाउने र यसलाई सधैँको लागि निराकरण गर्न सर्वपक्षीय प्रतिबद्धता जनाउने, आवश्यक छानबिन गर्नको लागि मार्गप्रशस्त गर्न वर्तमान गृहमन्त्रीले छानबिनको परिणाम नआएसम्म, अनुसन्धान प्रभावित नगर्नको लागि राजीनामा दिएर सहयोग गर्नुपर्ने र यसबारे जिम्मेवारी लिन र जनाउन प्रधानमन्त्रीले सदनमा आएर प्रतिबद्धता व्यक्त गर्नुपर्नेमा विपक्षी एकमत भएका छन् ।
संसद बैठक बिहान ११ बजे बोलाइएपनि सुरु हुन सकेको छैन ।