विपदका बेला पूर्वाधारमा हुनसक्ने क्षति न्यूनिकरण गर्न पूर्वतयारीमा छौंः उपप्रधानमन्त्री सिंह

NepalOne २० जेठ २०८२ १४:२९
बिशेष

काठमाडौं । भौतिक पूर्वाधार विकासमन्त्री देवेन्द्र दाहालले आकस्मिक समयमा काम गर्न सक्ने कानुन भएपनि अख्तियारले पत्र काटेर दुःख दिंदा समस्या भएको बताएका छन् । मंगलबार संसदको पूर्वधार विकास समितिको बैठकमा मन्त्री दाहालले खराव नियत भएका मान्छेहरुका कारण काम गर्दा प्रश्न उठ्ने गरेको बताएका हुन् ।

उनले सात दिनमा सूचना दिएर काम गर्न सकिने भएपनि यस्ता कामहरु गर्दा अख्तियारले पत्र काटेर दुःख दिने काम गरिरहेको गुनासो गरे ।

उनले जुन सरकार आएपनि योजना बनाई बजेट माग गरी अर्काे सालमा छाड्ने प्रवृति भएको बताए । उनले नयाँलाई प्रस्ताव नगरी अघिल्लो योजनालाई सम्पन्न गर्नुपर्ने बताए ।

बैठकमा उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशामन सिंहले वर्षातको मौसममा हुन सक्ने सम्भावित जोखिमलाई ध्यान दिँदै बाग्मती नदीमा गेग्रान हटाउने काम भइरहेको बताए । उनले सम्भावित जोखिम रहेका ठाउँहरुमा अहिले काम भइरहेको बताए ।

समितिमा वर्षातको पूर्वसन्ध्यामा शहरी विकास मन्त्रालयअन्तर्गत देशभर रहेका स्थानीय सडक,पुल र बेली ब्रिज लगायत पूर्वाधारमा हुनसक्ने क्षति न्यूनिकरण गर्न मन्त्रालयको पूर्वतयारीका बारेमा छलफल बोलाइएको बैठकमा उपप्रधानमन्त्री सिंहले विगतमा भएका घटनाबाट पाठ सिक्दै मन्त्रालयले पूर्वतयारी गरिररहेको बताए ।

‘विगतका घटनाबाट पाठ सिक्नपर्छ । नदी समयमा सफा गर्नुपर्छ । उपत्यकामा नदिको बढेको सतह घटाउनुपर्छ भनेर यहाँहरुले जोड दिनुभएको छ । अधिकारसम्पन्न बागमती बागमती सभ्यता एकीकृत विकास समितिले बागमती नदिमा काम शुरु गरिसकेको छ,’ उनले भने ।

उपप्रधानमन्त्री सिंहले विपद् आउनुअघि नै समितिले ध्यानाकर्षण गराएकोमा धन्यवाद व्यक्त गर्दै मौसम पूर्वानुमानको रिपोर्टअनुसार आवश्यक शतर्कता अपनाइने पनि बताए ।

बागमती सभ्यताका आयोजना निर्देशक नारायण प्रसाद भण्डारीकाअनुसार नख्खु क्षेत्र, बालकुमारीदेखि मनोहरा दोभानसम्मको क्षेत्रमा गेग्रान हटाउने काम भइसकेको छ । अहिले बल्खु क्षेत्र, सुन्दरीजलभन्दा तल गोकर्ण क्षेत्र र गुह्येश्वरस् क्षेत्रमा नदीबाट गेग्रान हटाउने काम भइरहेको छ ।

समितिमा शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले स्थानीय सडक र पुलमा भइपरी आउने विपद्को लागि आवश्ह्यक शतर्कता अपनाइएको बताए । उनले विपद् हेर्नेगरि प्रदेश र जिल्लामा रहेका मातहतका कार्यालयहरुमा फोकल पर्सन तोकेर काम भइरहेको जानकारी दिए । सचिव सिग्देलले अघिल्लो वर्षको बाढीइले क्षति पुगेका १० वटा झोलुंगे पुलको निर्माण कार्य सकिएको बताए ।


प्रतिक्रिया