बकर इदबाट धार्मिक सहिष्णुता कायम गर्न योगदान पुग्छः उपसभामुख


काठमाडौँ, २४ जेठः उपसभामुख इन्दिरा रानाले बकर इद (इद उल अज्हा) पर्वले त्याग, समर्पण र एकताको भावना पैदा गरी सामाजिक सद्भाव एवं धार्मिक सहिष्णुता कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
इस्लाम धर्मावलम्बीको महान पर्व बकर (इद उल अज्हा) को अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका समस्त मुस्लिम समुदायप्रति शुभकामना व्यक्त गर्दै सो विश्वास व्यक्त गर्नुभएको हो । उहाँले नेपाल बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय विशेषतायुक्त राष्ट्र भएको उल्लेख गर्दै संविधानले सबै धर्म, जाति, संस्कृति र समुदायलाई समानअधिकार दिएको बताउनुभएको छ ।
शुभकामना सन्देशमा भनिएको छ, “विभिन्न जातजाति, धर्म र समुदायअनुसारका आ(आफ्नै संस्कृति, परम्परा र चाडपर्वले हाम्रो विविधतालाई प्रतिबिम्बित गरेका छन्, हामी सबै नेपाली भए पनि अलग–अलग चाडपर्व, सांस्कृतिक रीतिरिवाज र परम्परा मान्दै आएका छौँ, विविधताभित्रको एकता नै हामी नेपाली हुनुको पहिचान हो ।”
बकर ईदमा मुस्लिम समुदायले नमाज पढ्नुका साथै अल्लाहको प्रार्थना गरी हर्षोउल्लासका साथ मनाउने गर्दछन् । भाइचारा, पारिवारिक एकता र सद्भावका रूपमा मनाइने यो पर्वमा पवित्रस्थल साउदी अरबको मक्कामा हज गर्न हरेक वर्ष लाखौँ मुस्लिम समुदायका नागरिक पुग्दछन् । बलिदान (कुर्बानी) को पर्वका रूपमा मनाइने यस पर्वले मुस्लिम समुदायमा आपसी मेलमिलाप, एकता र त्यागको भावना जागृत गर्नुका साथै अन्य धर्म र समुदायबीच सामाजिक सांस्कृतिक सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
उपसभामुख रानाले बकर ईदले धार्मिक सहिष्णुता, सामाजिक सांस्कृतिक सद्भाव एवं राष्ट्रिय एकता कायम गर्न विशिष्ट भूमिका खेल्ने विश्वाससहित सबैलाई बकर ईदको शुभकामना दिनुभएको छ ।