काठमाडौं महानगरका तत्कालीन इन्जिनियरविरुद्ध साढे ४ करोडको भ्रष्टाचार मुद्दा दर्ता


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका तत्कालीन इन्जिनियर रामबाबु महतो कोइरीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर भएको छ । आयोगले सोमबार कोइरीविरुद्ध ४ करोड ५८ लाख ९७ हजार ४०३ रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
पदको दुरुपयोग गरी कोइरीले गैरकानुनी सम्पत्ति आर्जन गरेको विशेष अदालतमा दायर अभियोगपत्रमा उल्लेख छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ (साबिक नक्टाझिझ गाविस) स्थायी घर भई हाल काठमाडौंको चण्डोलमा बस्दै आएका कोइरी २०४६ सालमा सार्वजनिक सेवा प्रवेश गरेका थिए ।
अख्तियारले सेवा प्रवेशदेखि ३० फागुन २०७८ सम्मको अवधिमा कोइरीको चलअचल सम्पत्तिमाथि अनुसन्धान गरेको थियो । यस क्रममा विभिन्न बैंक तथा वित्तीय संस्था, सहकारी लगायतमा भएको आर्थिक कारोबार, जग्गाजमिन, इन्स्योरेन्स, शैक्षिक संस्थामा गरेको लगानीलगायतको स्रोत खुलेको सम्पत्तिको तुलनामा बिगो कायम गरिएको सम्पत्ति बढी देखिएको अनुसन्धानबाट खुलेको हो ।