सरकारले लोकतान्त्रिक मर्मविरुद्ध पत्रकारलाई पक्राउ पुर्जी जारी गरेको माओवादीको आरोप

NepalOne २९ जेठ २०८२ १४:३६
प्रमुख खबर

काठमाडौँ । नेकपा माओवादी केन्द्रले सरकारले लोकतान्त्रिक मर्मविरुद्ध पत्रकारलाई पक्राउ पुर्जी जारी गरेको बताएको छ ।

माओवादी प्रवक्ता अग्नि सापकोटाले बिहीबार विज्ञप्ति जारी गरी सरकारको कदम प्रेस स्वतन्त्रता, लोकतान्त्रिक मूल्य मान्यता र संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको भावनाविपरीत रहेको बताएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘पत्रकार दिलभूषण पाठकमाथि समाचार प्रसारण गरेको आधारमा पक्राउ पुर्जी जारी गरिएको घटना तथा नेपालखबर डटकम र बिजमाण्डू डटकममा प्रकाशित समाचार हटाउन दिएको आदेशप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’

समाचार सामग्रीमा त्रुटि, पूर्वाग्रह वा तथ्यगत कमजोरी देखिए समाधानका लागि प्रेस काउन्सिललगायतका नियामक निकायमार्फत खण्डन गर्ने वा प्रतिवाद गर्ने विधि स्थापित भएको पनि माओवादीले सरकारलाई अवगत गराएको छ ।

‘माओवादी केन्द्र स्वतन्त्र, जिम्मेवार र तथ्यमा आधारित पत्रकारिताको सधैं पक्षधर रहेकोले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्धका गतिविधि नगर्न र सञ्चारकर्मीमाथि जारी पक्राउ पुर्जी फिर्ता लिन जोडदार माग गर्दछ,’ सापकोटाले विज्ञप्तिमा भनेका छन् ।


प्रतिक्रिया