इरानद्वारा इजरायलमा जवाफी क्षेप्यास्त्र हमला


बीबीसी । इजरायली हमलाको जवाफमा इरानले गएराति इजरायलमा बलिस्टिक क्षेप्यास्त्रहरू प्रहार गरेको छ । हमलाहरू जारी रहँदा इजरायली सहरहरूमा बारम्बार साइरनका आवाज सुनिएका छन् ।
तेल अभिभको आकाशमाथि कालो धुवाँ उठिरहेको बेला जेरुसेलममा विस्फोटको आवाज सुनिएको स्थानीयले बताएका छन् । अन्य इजरायली सहरमा समेत ठूला विस्फोटका आवाज सुनिएका विवरण आएका छन् । उक्त जवाफी हमलापछि ४० जनाको इजरायली अस्पतालहरूमा उपचार भइरहेको र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
अमेरिकी सञ्चारमाध्यमहरूले एकजनाको मृत्यु भएको उल्लेख गरेका छन् । शनिबार बिहानैदेखि दुवै पक्षबाट भएका हमलामा तेहरानमा समेत विस्फोटनका आवाज सुनिएका छन् ।
संयुक्त राष्ट्र सङ्घका लागि इरानी राजदूतले शुक्रबारदेखिका इजरेली हमलामा वरिष्ठ सैन्य अधिकारीहरूसहित ७८ जनाको मृत्यु भएको र ३२० जना भन्दा बढी घाइते भएको बताउँदै त्यसमा अधिकांश सर्वसाधारणहरू रहेको उल्लेख गरेका छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रममा सम्झौता गर्न आग्रह गर्दै त्यसो नभए ‘अझ क्रूर’ इजरायली आक्रमण हुनसक्ने चेतावनी दिएका छन् ।
इजरायली सञ्चारमाध्यमहरूले इरानी प्रतिआक्रमण सुरु भएदेखि एक व्यक्तिको मृत्यु भएको र दर्जनौँ घाइते भएको जनाएका छन् । इरानको आणविक कार्यक्रमसँग सम्बन्धित स्थान र व्यक्तिहरूमाथि लक्षित गरेर इजरेलले गरेको अभूतपूर्व हवाई आक्रमणको जवाफमा पछिल्लो हमला भएको हो ।
इजरायली प्रधानमन्त्रीले इरानलाई चेतावनी दिँदै थप आक्रमणहरू हुने क्रममा रहेको जनाएका छन् । बेन्जमिन नेतन्याहूले यस आक्रमणलाई इतिहासकै सबैभन्दा ठूलो सैन्य कारबाहीहरू मध्ये एकको रूपमा उल्लेख गरेका छन् ।