संसदबाट महत्वपूर्ण ऐन पारित गर्न दुई बुँदे सहमतिः प्रचण्ड

NepalOne ३१ जेठ २०८२ ११:१६
प्रमुख खबर

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई बुँदे सहमति संसदबाट ऐन पारित गर्नका लागि भएको बताएका छन् ।

शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले निजामती सेवा ऐन, शिक्षा सेवा ऐनलगायत महत्त्वपूर्ण ऐनहरू पारित गराउन ढिला भएकाले सदन खुलाउने सहमति गरिएको बताएका हुन् । उनले दुई बुँदे सहमति र आफ्नो पार्टीका उपाध्यक्ष अग्नि सापकोटाबीच कुनै साइनो नभएको जिकिर गरे ।

उनले भने, ‘वाहियात कुरा मानिसहरूले प्रचार गर्ने गर्या छन्, त्यस्तो केही पनि होइन, यो कुरा र अग्नि सापकोटाको कुनै साइनो सम्बन्ध छैन।’

उनले भिजिट भिसा प्रकरण छानबिनको मुद्दा नछाडेको जिकिर पनि गरे । उनले यस प्रकरणमा एक महिनाभित्र छानबिन समिति बनाउने सहमति भएपछि तत्काललाई संसद् बैठक चल्न दिने सहमति गरिएको बताए ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनैपर्ने अडान राखेर जेठ १३ देखि निरन्तर संसद् बैठक अवरुद्ध पारिरहेको माओवादी केन्द्रले शुक्रबार सत्तापक्षसँग दुई बुँदे सहमति गरेको छ ।


प्रतिक्रिया