रक्तदाता बढाउन चितवनमा रक्तदान महोत्सव

NepalOne ३१ जेठ २०८२ १२:५४
जीवनशैली/स्वास्थ्य

चितवन । उपचारका लागि रगतको अभाव भएपछि ब्लड डोनर्स सोसाइटी चितवनले शनिबार रक्तदान महोत्सव गरेको छ । विश्व रक्तदाता दिवस २०२५ का अवसरमा उद्योग सङ्घको प्रदशनी केन्द्रमा रक्तदान महोत्सव आयोजना गरिएको हो ।

महोत्सवको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले एक समारोहबीच उद्घाटन गरिन् । उनले अस्पतालको केन्द्र बन्दै गरेको चितवनमा आयोजित महोत्सवले रगतको अभाव हुने समस्या समाधान गर्नेमा विश्वास व्यक्त गरिन् ।

प्रमुख दाहालले भनिन्, “मानव जीवनको महत्वपूर्ण काम रक्तदान पनि हो, जसले कसेको ज्यान बच्न सक्छ, रक्तदातालाई प्रोत्साहन गर्न आवश्यक छ ।”

जिल्ला समन्वय समिति प्रमुख नारायणप्रसाद अधिकारीले नयाँ रक्तदाता खोजेर रक्तदानमा उत्प्रेरित गर्नुपर्ने बताए । समाजमा युवालाई रक्तदान गर्दा शरीरमा हानी हुँदैन भन्ने ज्ञान दिन जरुरी रहेको उनको भनाइ छ । सोसाइटी चितवनका अध्यक्ष एकराज पाठक, सोसाइटीका रत्ननगर नगरपालिका अध्यक्ष रमेश नेपाललगायतले रक्तदानबारे चर्चा गरेका थिए ।

महोत्सवमार्फत ७५ प्रतिशत नयाँ रक्तदाता ल्याउने अपेक्षा लिइएको सोसाइटीका अध्यक्ष अर्जुन अधिकारीले बताए ।

एक दिनमा एक हजार ५०० युनिटभन्दा बढी रगत सङ्कलन गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको जनाइएको छ । त्यस अवसरमा १०० भन्दाबढी पटक रक्तदान गर्ने रक्तदातालाई सम्मान गरिएको थियो ।

सोसाइटीका अनुसार हाल चितवनका अस्पतालमा दैनिक १५० युनिट रगतको माग छ । अहिले प्रादेशिक रक्तसञ्चार केन्द्रमा औसतमा ३० देखि ४० युनिट मात्र रगत उपलब्ध हुँदै आएको छ ।


प्रतिक्रिया