पार्टीको महाधिवेशन २०८३ मंसिर अघि नै हुन्छः महामन्त्री थापा


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको महाधिवेशन २०८३ मंसिर अघि नै हुने दाबी गरेका छन् ।
शनिबार पार्टीको प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ६ प्रदेश ‘क’ काठमाडौंको तेस्रो प्रदेश सभा क्षेत्रीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले ०८४ को चुनावपछि अधिवेशन हुन्छ भन्ने भ्रमबाट निस्कन आग्रह गरेका हुन् ।
उनले पार्टी सभापति शेरबहादुर देउवा, शेखर कोइराला, शशाङ्क कोइराला, गगन थापा, विश्वप्रकाश शर्मा सबै मिलेर अधिवेशन सार्छु भनेपनि नसर्ने बताए ।
उनले भने, ‘महाधिवेशनका बारेमा कोही पनि दुविधामा नरहनु होला । हामीसँग लास्ट डेट भनेको ०८३ को मंसिर हो । त्यहाँसम्म पुर्याउनु हुन्न ।’
महामन्त्री थापाले पार्टीमा गुटबन्दी अन्त्यका लागि क्रियाशील सदस्यबाट प्रत्यक्ष रूपमा पार्टी सभापति चुन्ने व्यवस्था गर्नुपर्ने पनि बताए । उनले कांग्रेसमा अहिले ८ लाख ६६ हजार क्रियाशील सदस्य रहेका भन्दै नयाँ थप्दा १२ लाख पुगेपनि सबैले सभापति चुन्न पाउने गरी जानुपर्ने बताए ।