‘दुई बुँदे सहमतिकाबारेमा पार्टी अध्यक्षसँग प्रत्यक्ष छलफल र भेटघाट गरेर निष्कर्षमा पुग्छौं’


काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीले २०८४ मा बहुमत नल्याए देश थप संकटमा फस्ने बताएका छन् ।
शनिबार काठमाडौंमा दोलखा–काठमाडौं सम्पर्क समन्वय समितिको छैटौँ सम्मेलनलाई सम्बोधन गर्दै उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गरेको कामकै कारणले अहिले माओवादीप्रति आकर्षण बढेको बताए ।
श्रेष्ठले भिजिट भिसा प्रकरणमा सरकारमा रहेका दुई राजनीतिक दलहरूसँग गरेको सम्झौता पार्टी हितमा भए/नभएको बारेमा समीक्षा हुनुपर्ने बताएका छन् ।
उनले सरकारमा रहेका दुई राजनीतिक दलहरूसँग दुई बुँदे सम्झौता भएपछि संसद खुलेको बताए । उनले त्यसबारेमा विभिन्न प्रतिक्रियाहरू आइरहेकाले पार्टी अध्यक्षसँग प्रत्यक्ष छलफल हुन नसकेको र अध्यक्षले समग्र परिस्थितिको लेखाजोखा गरेर त्यस्तो निष्कर्षमा पुगेको हुनसक्ने बताए ।
उनले भने, ‘देशलाई संकटबाट मुक्त गराउन हाम्रो पार्टीको नेतृत्व आवश्यक छ । ०८४ को चुनाव आउँदैछ । देश बर्बाद भयो भन्ने अनि माओवादीलाई बहुमतको सरकार बनाउने ठाउँमा पुर्याउन सकेन भने देश झन् संटकमा फस्छ ।’
संसद खुलाउन भएको दुई बुँदे सहमतिका बारेमा विभिन्न प्रतिक्रियाहरु आइरहेकाले त्यसबारेमा पार्टी अध्यक्षसँग प्रत्यक्ष छलफल र भेटघाट गरेर निष्कर्षमा पुग्ने बताए । उनले हाल आफ्नो पार्टीले लिएको मुद्दा नछाड्ने र भ्रष्टाचार विरुद्धको अभियान जारी राख्ने प्रतिक्रिया दिए ।