मन्त्रिपरिषद्द्वारा मधेस प्रदेशको बजेट पारित


महेन्द्रनगर (धनुषा), १ असारः मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि प्रस्तावित बजेट मन्त्रिपरिषद्को बैठकबाट पारित गरेको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरधाममा आज बसेको बैठकले बजेट अनुमोदन गरेपछि अब सो बजेट प्रदेशसभामा प्रस्तुत गर्ने तयारी गरिएको हो । मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रिपरिषद्को बैठकबाट बजेट पारित भइसकेको जानकारी दिँदै अब प्रदेशसभा बैठकमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “मन्त्रिपरिषद्को बैठकबाट बजेट पारित भइसकेको छ । अब प्रदेश सभा बैठकमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्नुहुनेछ ।” प्रदेशका अर्थमन्त्री सुनिलकुमार यादवले प्रदेशसभामा बजेट वक्तव्य पेस गर्ने कार्यक्रम रहेको मुख्यमन्त्री सिंहले जानकारी दिनुभयो ।
प्रदेश सरकारले आगामी आवका लागि नीति तथा कार्यक्रम केही दिनअघि सार्वजनिक गरिसकेको छ । नीति तथा कार्यक्रममा समेटिएका प्राथमिकता, लक्ष्य र घोषणालाई कार्यान्वयन गर्न आगामी वर्षको बजेटले आर्थिक रूपले आधार बनाउने अपेक्षा गरिएको छ ।