परराष्ट्रमन्त्रीद्वारा इजरायलमा रहेका नेपालीबारे इजरायली राजदूतसँग जानकारी


काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायल र इरानबीचको युद्धबाट विकसित परिस्थितिबारे नेपालका लागि इजरायली राजदूत स्मगलर एरी बाससँग जानकारी लिएकी छन् ।
सोमबार परराष्ट्र मन्त्रालयमा मन्त्री राणासँग राजदूत बासले इजरायल र इरानबीचको पछिल्लो द्वन्द्व र त्यहाँको पछिल्लो अवस्थाका बारेमा जानकारी गराएका हुन् ।
त्यस अवसरमा मन्त्री राणाले इजरायलमा रहेका नेपालीको अवस्थाका बारेमा जानकारी लिँदै उनीहरूलाई पर्न सक्ने आवश्यक सहायता र सुरक्षित अवस्थाका लागि राजदूत बासमार्फत् इजरायल सरकारलाई आग्रह गरिन् । भेटका क्रममा राजदूत बासले इजरायलमा रहेका नेपालीहरू सुरक्षित रहेका जानकारी गराएका थिए ।
आइतबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर इजरायल र इरानमा रहेका नेपालीहरू सुरक्षित रहेको जानकारी गराएको थियो ।
पछिल्ला केही दिन इरान र इजरायलबीच विकसित घटनाक्रमका सन्दर्भमा मन्त्री राणाले तेल अभिभ र दोहास्थित नेपाली राजदूतहरूलाई आइतबार टेलिफोन सम्पर्क गरी त्यहाँस्थित नेपाली नागरिकको सुरक्षामा ध्यान दिन निर्देशन दिएकी थिइन् ।
मन्त्रालयले दुई देशबीचको द्वन्द्वलाई नजिकबाट नियालिरहेको र त्यहाँ रहेका नेपालीको सुरक्षा सुनिश्चितताका लागि सरकारले आवश्यकताअनुसार उपयुक्त कदम चाल्ने विज्ञप्तिमा स्पष्ट गरेको थियो ।