`

बजेट केही मन्त्रालयको कब्जामा परेको जस्तो देखिन्छः सांसद ज्वाला

Nepal One HD २ असार २०८२ १६:३७
अर्थ समाचार

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले संसदको वर्तमान सञ्चालन शैलीप्रति गम्भीर प्रश्न उठाएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद ज्वालाले प्रतिपक्षी दलका सांसदहरुले वेल घेराउ र नाराबाजी गरिरहेका बेला संसद चल्नु आफैंमा दुखद पक्ष भएको बताएका हुन् ।

उनले भने, ‘मलाई एउटा कुरा अनौठो लागेको छ । वास्तवमा संसदमा प्रतिपक्षी दलका माननीयज्यूहरु वेल घेराउ र नाराबाजीमा हुनुहुन्छ । यता हामीले संसद चलाइरहेका छौं । यो कस्तो परम्परा हामी बसाल्दै छौं ?’

सांसद ज्वालाले बजेट छलफलप्रति पनि असन्तुष्टि जनाउँदै सौद्धान्तिक छलफल अघि नबढ्दै मन्त्रालयगत बजेट पुस्तक वितरण गरिनु गलत भएको बताए ।

उनले भने,‘यसले सौद्धान्तिक छलफल रुमलिएको छ । अब छलफल त्यता केन्द्रित हुने अवस्था छ । सहरी विकास मन्त्रालयको मात्र कुरा गर्दा पनि बजेट सरकारका केही मन्त्रीहरूले एकलौटी रूपमा कब्जा गरेको जस्तो देखिन्छ ।’

उनले मन्त्री र नेताका बुवाआमाको नाममा, पार्टी र जनसंगठनका कार्यालय निर्माणका लागि अर्बौं रुपैयाँ विनियोजन गरिएको बताए ।

उनले भने,‘जस्तो सहरी विकास मन्त्रालयको मात्रै कुरा गर्दाखेरी यो बजेटलाई सरकारका मन्त्रीहरुले एकलौटी कब्जा गरेको जस्तो देखिन्छ । मन्त्री र नेताका बुवाआमाका नाममा, पार्टी र जनसंगठनका पार्टी कार्यालय बनाउन अर्बौं रकम बाँडिएको छ । तर दुर्गम जिल्लाहरुमा स्वास्थ्य चौकी, खानेपानी जस्ता आधारभूत आवश्यकताहरुमा बजेट नभएर जनताहरु छटपटाइ रहेका छन् ।’


प्रतिक्रिया