काठमाडौँ / जनता समाजवादी पार्टी (जसपा) नेपालले आज आफ्नो संसदीय दलको नेता चयन गर्ने भएको छ ।
जसपा संसदीय दलको नेता चयनका लागि निर्वाचन कार्य तालिकाअनुसार आज बिहान ११ देखि १२ बजेसम्म मनोनयन दर्ता हुने र अन्य प्रक्रिया पूरा गरेर अपराह्न २ देखि ३ः३० बजेसम्म मतदान हुने जसपा संसदीय दलको कार्यालयले जनाएको छ ।
मतदान सकिए लगत्तै परिणाम सार्वजनिक गर्ने जनाइएको छ ।
प्रतिनिधिसभामा जसपाका १२ सांसद रहेका छन् । अध्यक्ष उपेन्द्र यादव गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा चुनावमा पराजित हुनुभएपछि दलको नेताका रूपमा सङ्घीय परिषद् अध्यक्ष अशोक राई र राजकिशोर यादवको दाबी रहेको छ ।
जसपाले सरकारमा सहभागी हुने वा नहुने भन्नेबारे राजनीतिक समितिको बैठकपछि मात्र निर्णय गर्ने जनाएको छ ।
यही पुस १८ र १९ गते राजनीतिक समितिको बैठकपछि मात्रै सो विषयमा निर्णय हुने जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।