काठमाडौं । प्रतिनिधि तथा प्रदेश सभामा स्वतन्त्र उम्मेदवारी दिई आफ्नो राजनीतिक यात्रा सुरु गरेकाहरुको राष्ट्रिय सम्मेलन हुने भएको छ । स्वतन्त्र उम्मेदवार तथा वैंकल्पिक राजनीतिक फोरमले विहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फाल्गुन ५ देखि ७ गतेसम्म राष्ट्रिय सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो ।
स्वतन्त्र उम्मेदवार तथा वैंकल्पिक राजनीतिक शक्तिहरु एकठाँउ आउनैपर्ने भएकाले सम्मेलनको आयोजना गरिएको फोरमले जनाएको छ । तीन दशक लामो समयदेखि नै दलहरुले भ्रष्टाचार, कुशासन र अविकासको दुष्चक्रमा फसाएकाले अव जनता चूप लागेर बस्न नहुने र अव वैकल्पिक शक्तिको आवश्यकता रहेको फोरमको भनाइ छ ।
राष्ट्रिय सम्मेलनमार्फत देशमा राजनैतिक शुद्धिकरण, सुशासन र आर्थिक समृद्धिको स्पष्ट रोड म्यापको खाका सहित शसक्त र वैकल्पिक शक्तिको घोषणा गरिने स्वतन्त्र उम्मेदवार तथा वैकल्पिक राजनीतिक शक्तिहरुको राष्ट्रिय सम्मेलन, अन्तराष्ट्रिय समन्वय समितिका संयोजक सुनि प्रसाद शाहले जानकारी दिए ।
त्यस्तै सम्मेलनमार्फत सवै निर्वाचन र परिणामहरुको गहन विश्लेषण गरि आम नागरिकको अवको आवश्यकता अनुसारको कार्यक्रम तर्जुमा गर्ने फोरमले जनाएको छ ।