काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीबाट असावधानी, कमजोरी र गल्तीको कुनै ढाकछोप नगरिने बताएका छन् । शनिवार महामन्त्रीद्वय थापा र शर्माले संयुक्त विज्ञप्तिमार्फत यस्तो बताएका हुन् ।
उनीहरुले पार्टीबाट असावधानी, कमजोरी र गल्तीको कुनै ढाकछोप नगरी स्वीकार्दै खुला र पारदर्शी छलफलमार्फत कारण र कारकको प्रष्ट पहिचान गरेर अबको मार्गचित्र तय गर्ने बताए । विज्ञप्तिमा उनीहरुले कांग्रेसले गम्भीर आत्मसमीक्षा र आत्ममूल्याङ्कन गर्दै सुविचारित ढङ्गबाट अबको बाटो तय गर्ने बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ “नेपाली जनताको मतबाट हामी पहिलो दलका रूपमा विजयी भएकै हौँ । तर गठबन्धनको सरकार बनाउन पर्याप्त गृहकार्य र सावधानी पु¥याउन नसक्दा केबल सत्ताको राजनीतिमा यो पटक पछि परेका मात्रै हौँ । हामी उच्च नैतिक बलका साथ दाबी गर्न सक्छौँ कि निर्वाचनका बेला एउटा गठबन्धन र एउटा वाचाबन्धन गरेर जाने, तर निर्वाचनपछि अर्कै बाटो हिँड्ने बेइमानी कम्तिमा हामीबाट भएन”
उनीहरुले कांग्रेसले वर्तमान सरकारलाई गुण र दोषका आधारमा मूल्याङ्कन गर्ने, जनताप्रति जवाफदेही बनाउन जिम्मेवार प्रतिपक्षका रुपमा सशक्त भूमिका निर्वाह गर्ने तथा राष्ट्रिय राजनीति र जनचासोका विषयमा नेतृत्वदायी अग्रसरता लिने बताएका छन् ।