
पोखरा । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लामो समयको निर्माणपछि सञ्चालनमा आएसँगै पोखरेली जनताको सपना पूरा भएको बताएका छन् । उनले तेस्रो पटक प्रधानमन्त्री भएको एक हप्ता नपुग्दै विमानस्थल उद्घाटन गर्न पाउँदा हर्ष र गर्व महशुस भएको बताउदै यस्तो बताएका हुन् ।
उनले भने, ‘तेस्रो पटक प्रधानमन्त्री बनेको एक हप्ता नपुग्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने अवसर पाएँ । तपाईंहरुको खुसीसँग खुसी मिसाउन चाहन्छु ।’
प्रचण्डले अब छिट्टै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु गर्ने बताएका छन् । उनले आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले जिल्लाको मात्रै नभइ सिंगो मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने समेत बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले शान्ति सम्झौतामा आएदेखि नै आफूले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्छ भन्ने अडान राख्दै आएको पनि बताएका छन् ।
संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो प्रधानमन्त्री भएदेखि नै लगातार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको बारेमा कास्की जनतासँग, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता र बुद्धिजिवी,व्यवसायीहरुसँग गरेको दिनको स्मरण उनले गरेका छन् । विमानस्थल उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड आइतबार काठमाडौंबाट पोखरा आएका थिए ।