लमजुङ – लमजुङ र गोरखाको सीमा भएर बग्ने चेपेखोलामा निर्माणाधीन ७ मेगावाटको चेपे ‘ए’ जलविद्युत् आयोजनाको संरचनामा आगजनीपछि निर्माण कार्य ठप्प छ । आयोजनाका अनुसार २४ मंसिरमा लमजुङको राइनास नगरपालिकाका बासिन्दाले आगजनी गरेपछि काम राेकिएकाे हाे ।
आयाेजनाकाे प्रवर्द्धक कम्पनी चम्पावती हाइड्रोपावर लिमिटेड अब कसरी अगाडि बढ्ने भन्नेमै अन्योलमा छ । आयोजना सञ्चालन, दोषीलाई कारबाही र क्षतिपूर्ति बारे कुनै प्रक्रिया अघि नबढ्दा निर्माण कार्य सुरु गर्न अलमल भएको हो ।
आयोजनाको कार्यालय परिसरमा रहेका दुई मिनी ट्रक, एउटा एक्स्काभेटर र दुई अस्थायी टहरोमा आगजनी भएकाे थियो । आगजनी र तोडफोडकाे आरोपमा प्रवर्द्धक कम्पनी चम्पावती हाइड्रोपावर लिमिटेडले राइनास नगर उपप्रमुख पुष्पराज खनाल, राइनासटार सिंचाइ जल उपभोक्ता समूहका अध्यक्ष फणिन्द्रराज चिलुवाल, सचिव हरिप्रसाद चिलुवाल, कोषाध्यक्ष गोविन्दराज न्यौपाने, उपभोक्ता नारायण अधिकारी, इन्जिनियर प्रकाश न्यौपाने, कांग्रेस राइनास नगर सभापति श्रीकृष्ण पौडेल र एमाले राइनास नगर कमिटी सचिव बलराम घिमिरेविरुद्ध जिल्ला प्रहरी कार्यालय गोरखामा किटानी जाहेरी दिएको छ ।
आठ जनाविरुद्ध मुद्दा चलाएको र यसबारे थप छलफल गर्न आवश्यक रहेको गोरखा प्रहरीका एसपी केदार खनालले बताए । ‘आयोजना खाेल्ने विषयमा प्रवर्द्धक आफ्नै ढंगले अघि बढेको छ । हामी पनि छलफल र समन्वयमै छौं,’ उनले भने, ‘नयाँ सरकार बनेको छ, केही दिनमा ठोस निर्णय आउला ।’ आयोजनाको निर्माण थाल्नेबारे यसअघि बसेका सर्वपक्षीय बैठकबाट निष्कर्ष निस्कन सकेको थिएन । केही राइनासवासीले नियोजित रूपमै आन्दोलन, तोडफोड र आगजनी गरेको प्रवर्द्धक चम्पावतीका अध्यक्ष हरिराम पराजुलीको दाबी छ । ‘त्यसयता आयोजना निर्माण ठप्प छ । अघि बढाउने प्रयास पनि भएको छैन,’ उनले भने ।
गोरखाको सिरानचोक गाउँपालिका-२ कुबिन्डेबेँसीमा निर्माणाधीन आयोजनाले लमजुङको राइनासटार सिँचाइको मुहानभन्दा करिब डेढ सय मिटर तल पानी झार्ने र यसले सिँचाइ आयोजना ठप्प पार्ने भन्दै राइनासवासी आन्दोलित छन् ।
माघ ०७७ देखि आयोजना निर्माण सुरु हुँदा नै सिँचाइको मुहानमाथि पानी झर्ने गरी विद्युत् गृह बनाउन आग्रह गर्दा अटेरी गरिएपछि आन्दोलनमा उत्रनु परेको राइनास–१ बोराङखोलाका गोविन्दराज न्यौपानेले बताए । आयोजनाले सिरानचोक र दूधपोखरी गाउँपालिकालाई प्रभावित क्षेत्रमा समेटे पनि राइनास नगरपालिकालाई भने नसमेटेको उनको गुनासो छ ।
यो सिँचाइ योजनाले अहिले प्रत्यक्ष अप्रत्यक्ष रूपमा करिब १८ हजार परिवारलाई खाद्यवस्तुमा आत्मनिर्भर बनाउँदै आएको छ । चम्पावतीले तोडफोड र आगजनीबाट ३३ करोड ४० लाख रुपैयाँ नोक्सान भएको भन्दै दोषीबाट क्षतिपूर्ति भराउन समेत माग गरेको छ ।