पर्यटक आगमनमा सुधार, कोरोना महामारीपछिकै सबैभन्दा धेरै पर्यटक नेपाल भित्रिए

73 Shares

काठमाडौँ । कोरोना महामारीपछि सबैभन्दा धेरै पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२२ मा छ लाख १४ हजार १४८ जना पर्यटक नेपाल भित्रिएका हुन् । कोरोना महामारीपछि यो सबैभन्दा धेरै हो ।महामारीका कारण सन् २०२० मा शून्यप्रायः देखिएको पर्यटक आगमन सन् २०२२ मा सुधार भएको हो ।

नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै सार्क मुलुकका छन् । सार्क मुलुकका पर्यटकको सङ्ख्या दुई लाख ४६ हजार रहेका छन् । यस्तै युरोपेली मुलुकबाट एक लाख ३३ हजार जना र अमेरिकी मुलुकका ८६ हजार पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ ।

बोर्डका कार्यकारी निर्देशक धनञ्जय रेग्मीले महामारीपछि तुलनात्मक रूपमा पर्यटक आगमनमा सुधार हुँदै गएकाले पर्यटन क्षेत्र थप चलायमान बन्दै गएको बताउनुभयो ।“नेपालमा पर्यटनको दोस्रो ठूलो बजार मानिएको चीनबाट पर्यटक आउन नसक्दा एक लाख १५ हजारको हाराहारीमा चिनियाँ पर्यटक घटे पनि गत वर्षको तुलनामा ६५ प्रतिशत सुधार भएको छ,” उहाँले भन्नुभयो ।

पछिल्लो समय भारतीय पर्यटकको आगमन थप सुधार देखिएको छ । कोरोनाका कारण लामो समय घरभित्रै सीमित रहेकाहरू बिस्तारै भ्रमणमा निस्कन लागेकाले पर्यटन आगमनमा थप सुधार हुँदै जाने रेग्मीको विश्वास छ ।

भारतसँगका २१ वटै नाकामा सडक मार्गबाट आउने पर्यटक धेरै रहेको र तथ्याङ्कमा नआएपछि सडक मार्गबाट आउने पर्यटकको सङ्ख्यासमेत गणनामा ल्याउन गृह मन्त्रालयसँग तथ्याङ्क राख्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

सम्बन्धित समाचार

सबै