सीडीयोहरुलाई गृहमन्त्री लामिछानेको निर्देशन : प्राकृतिक प्रकोपबाट जनतालाई जोगाउने योजना बनाएर काम गर्नू

28 Shares

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले शीतलहर, जाडो जस्ता प्राकृतिक प्रकोपबाट जनतालाई जोगाउने योजना बनाएर काम गर्न निर्देशन दिएका छन् । उनले जनताको गुनासो नआउने ढंगले सेवा प्रवाह गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका हुन् ।

मन्त्री लामिछानेले आज ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई भर्चुअल माध्यमबाट सम्बोधन गरेका थिए । सोही क्रममा मन्त्री लामिछानेले गुनासोरहित सेवा प्रवाहमा ध्यान दिन निर्देशन दिएका हुन् । मन्त्री लामिछानेले सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्न र राजश्व चुहावट नियन्त्रणमा पनि ध्यान दिन निर्देशन दिएका छन् ।

गृहमन्त्री भएर पदभार ग्रहण गरेकै दिन उनले गृहप्रशासन सुधारमा आफ्नो प्रयास रहने र विधिको शासन कार्यान्वयनमा सहयोग रहने प्रतिबद्धता जनाएका थिए । उनले निर्मला पन्त हत्या प्रकरणलाई तथ्यका आधारमा अनुसन्धान अघि बढाउन निर्देशन दिएलगत्तै प्रहरीले नायब महानिरीक्षक दुर्गा सिंहको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन पनि भइसकेको छ ।

आजको बैठकमा भने गृहमन्त्रीसमक्ष देशभरको सुरक्षा अवस्थाका बारेमा सम्बद्ध अधिकारीबाट जानकारी गराइने सुरक्षा ब्रिफिङ कार्यक्रम तय भएको छ ।

सम्बन्धित समाचार

सबै