काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिट्ब्युरो बैठक सुरु भएको छ । जारी बैठकमा आगामी राजनीतिक रणनीतिका विषयमा छलफल हुने नेताहरुले जानकारी दिए ।
कांग्रेससहितको गठबन्धन तोडिएको र एमालेसँग मिलेर माओवादी केन्द्रले सरकार बनाएपछि तय गर्नुपर्ने राजनीतिक रणनीतिसहितका विषयमा बैठकमा छलफल हुनेछ ।
आगामी रणनीति तय गर्ने, वामपन्थी एकताका लागि छलफल अगाडि बढाउने लगायतका विषय बैठक सुरु भएको प्रवक्ता जगन्नाथ खतिवडाले बताए । शनिवार र आइतबार बसेको स्थायी कमिटीको बैठक बसेको थियो। नेकपा एमालेसहित ७ दलको समर्थनमा बनेको सरकारमा जाने वा नजाने भन्ने विषयमा पार्टीभित्र नेताहरू दुई धारमा बाँडिएका छन् ।
केही नेताहरूले प्रचण्ड सरकारलाई समर्थन मात्र गर्नुपर्ने भनेका छन् भने अधिकांशले सरकारमै जानुपर्नेमा नेताको जोड दिएका छन् । प्रधानमन्त्री प्रचण्डले सरकारमा आउन आग्रह गरे पनि नेकपा एसले संस्थागत निर्णय गरेको छैन ।