नेपालगञ्जमा महामामारीकै रुपमा फैलियो दादुरा

36 Shares

नेपालगञ्ज / बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा समुदाय स्तरमै दादुरा फैलिएको छ । तीन दिनको अवधिमा २५ जना बालबालिकामा दादुरा देखिएको नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताउनुभयो ।

नेपालगञ्जमा गत पुस १८ गते एकै परिवारका ४ जना बालबालिकामा दादुरा पुष्टि भएको थियो । वडा नम्बर ७ का एकै परिवारका ४ जना बालबालिकामा दादुरा पुष्टि भएपछि समुदाय स्तरमै दादुरा फैलिएको आशङ्कामा नेपालगञ्ज उपमहानगरपालिकाले जाँच–पड़ताल सुरु गरेको छ । प्रभावित क्षेत्रमा दादुरा रुवेलाका शङ्कास्पद बिरामीहरूको जाँच, परीक्षण तथा व्यवस्थापन शिविर सुरु गरिएको हो ।

नेपालगञ्जका वडा नम्बर ५, ७ र ८ मा दादुरा प्रकोपकै रुपमा फैलिएको देखिएको चन्दले बताउनुभयो । हिजो वडा नम्बर ५, ७ र ८ मा आयोजित शिविरमा ७० जनाको स्क्रिनिङ गरिएकोमा थप ८ जनामा दादुरा देखिएको छ । हिजो मात्रै वडा नम्बर ५ का दादुरा संक्रमित अढाई बर्षीय बालकको मृत्यु भएको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिनुभयो ।

समुदायस्तरमा दादुरा फैलिएपछि दादुरा देखिएका बालबालिकालाई आइसोलेट गरेर उपचार गर्ने, वरपरका बालबालिकाको स्क्रिनिङ गर्ने र जनचेतना फैलाउने काम सुरु भएको पनि चन्दको भनाई छ । खोप लगाएको र नलगाएको एकिन गरेर दादुराको खोप लगाउने कार्यलाई अब अभियानकै रुपमा अघि बढाउने चन्दले बताउनुभयो ।

दादुरा श्वासप्रश्वासका माध्यमबाट तीव्र गतिमा सर्ने र फैलिने भएकाले नेपालगन्जका बालबालिका दादुरा महामारीको उच्च जोखिममा परेको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकलपर्सन नरेश श्रेष्ठले बताउनुभयो । उहाँले दादुरा देखिएका वडामा १५ वर्ष मुनिका बालबालिकालाई खोप लगाउने तयारी भइरहेको बताउनुभयो ।

जनस्वास्थ्य प्रोटोकल अनुसार एउटै समुदायमा पाँच जना भन्दा धेरै बालबालिकामा दादुरा देखिए त्यसलाई महामारी मानिन्छ । नेपालबाट सन् २०२३ सम्म दादुरा रोग उन्मुलन गर्ने लक्ष्य लिइएको छ ।दादुराको महामारी देखिएपछि स्वास्थ्य कार्यालय बाँके, नेपालगन्ज उपमहानगरपालिका, विश्व स्वास्थ्य स्वास्थ्य संगठन, युनिसेफ, वडा स्वास्थ्यकर्मीको टिम प्रभावित क्षेत्रमा परिचालन भएको छ ।

जनस्वास्थ्य प्रोटोकल अनुसार एउटै समुदायमा पाँच जना भन्दा धेरै बालबालिकामा दादुरा देखिए त्यसलाई महामारी मानिन्छ । नेपालबाट सन् २०२३ सम्म दादुरा रोग उन्मुलन गर्ने लक्ष्य लिइएको छ ।

सम्बन्धित समाचार

सबै