सात दिनभित्र लुम्बिनीमा सरकार गठन गर्न आह्वान

46 Shares

रुपन्देही / लुम्बिनी प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनले पुस २७ गते बुधबार ४ः०० बजेसम्मको समय तोक्नुभएको छ । पुस १७ गते सांसदहरूको शपथ ग्रहण तथा १८ गते प्रदेशसभा अधिवेशन सुरु भइसकेको छ ।

प्रदेश प्रमुख शेरचनले प्रदेशसभामा कुनै दलको बहुमत नआएकाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा सो समयभित्र बहुमत सदस्यको हस्ताक्षरसहित दाबी पेश गर्न आह्वान गर्नुभएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जानकारी दिनुभयो ।

८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सांसदको आवश्यकता पर्दछ । अहिले केन्द्रमा गठबन्धन गरेका ६ दलका ५३ सांसद रहेका छन् । एमाले र माओवादीले मुख्यमन्त्रीको दाबी गर्दै लीला गिरी र जोखबहादुर महरालाई दलको नेता बनाएका छन् । तर केन्द्रबाटै यहाँको मुख्यमन्त्री कुन दलले पाउने भन्ने सहमति भएको छैन । एमालेले पहिलो दल भएकाले कुनै पनि हालतमा लुम्बिनी नछाड्ने गरी अगाडि बढेको छ भने माओवादीले आफ्नो आधार इलाका मानिएको क्षेत्र र स्थायी कमिटीकै सदस्य रहेका महरालाई मुख्यमन्त्री बनाउन खोजिरहेको छ ।

एमालेसँग २९ र माओवादीसँग १० सांसद रहेका छन् । सत्तारुढ दलको गठबन्धनमा रहेका राप्रपा र नागरिक उन्मुक्ति ४-४, जसपा र जनमतको ३-३ सांसद रहेका छन् ।

सदनमा २७ सांसदसहित दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले पनि अहिलेको गठबन्धनलाई भत्काउन नागरिक उन्मुक्ति, जसपा, जनमतलाई ठुलै भाग दिएर मनाउन खोजेको छ । तर केन्द्रमा भएको गठबन्धनविरुद्ध तत्काल जान नसकिने ती दलका नेताहरूले बताएकाले त्यो सम्भावना कम देखिन्छ ।

सम्बन्धित समाचार

सबै