स्वदेशी उत्पादनलाई सहज र सुलभ बनाउन कृषि उत्पादन बढाउनु पर्छ : राष्ट्रपति

40 Shares

काठमाडौँ / राष्ट्रपति विद्या देवी भण्डारीले स्वदेशी उत्पादनलाई सहज र सुलभ बनाउन कृषि उत्पादन बढाउनु पर्ने बताउनुभएको  छ ।

नेपाली उत्पादनको बजारीकरण गर्ने र आर्थिक समृद्धिको आधार तयार पार्ने उद्देश्यसहित भृकुटीमण्डपमा १७औँ अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक मेलाको उद्घाटन गर्नु हुँदै उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँले नेपाली श्रम, सीप र कच्चा पदार्थबाट नेपालमै उत्पादित सामग्रीहरूको निकासी प्रवर्द्धन गर्नसके मात्र हाल मुलुकले व्यहोरिरहेको चुलिँदो व्यापार घाटालाई सन्तुलनमा ल्याउन सकिने बताउनुभयो ।

राष्ट्रपति भण्डारीले घरेलु उत्पादनको रूपमा रहेका नेपाली फुटवेयर उत्पादनहरुले स्वदेशी जुत्ताचप्पल बजारमा ठूलो स्थान ओगट्न सफल भएको र यसले आधा लाख बढी मानिसलाई रोजगारी प्रदान गरेकोप्रति खुसी प्रकट गर्नुभयो । उहाँले स्वदेशी उत्पादनलाई सहज र सुलभ बनाउन कृषि उत्पादन बढाउने, वन पैदावार र जडिबुटीमा आधारित आयात प्रतिस्थापन गर्ने, तथा पर्यटन प्रवर्द्धन  जलविद्युतको स्वदेशी खपतमा जोड दिने नीतिहरू नेपाल सरकारले अवलम्बन गर्नु अति आवश्यक भएको उल्लेख गर्नुभयो ।

जुत्ता उत्पादक सङ्घ नेपालले आयोजना गरेको मेलामा कूल एक सय ७० स्टल छन् । स्वदेशी तथा विदेशी उत्पादनका जुत्ता प्रदर्शनीमा राखिएको छ ।

मेला संयोजक सुरज बञ्जाडेका अनुसार मेलामा ४० विदेशी कम्पनी पनि रहनेछन् ।

 

सम्बन्धित समाचार

सबै