काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि टीकापुर घटनाका राजबन्दीहरूलाई रिहाई गर्ने बताएका छन् । शुक्रबार थारू कल्याणकारिणी सभा र थारू आयोगका पदाधिकारीहरूसँगको भेटवार्तामा प्रचण्डले रेशम चौधरीलगायत राजबन्दीहरूको रिहाईका लागि सरकार सकारात्मक रहेको बताएका हुन् ।
सभाका महामन्त्री प्रेमीलाल चौधरीले अघिल्लो सरकारले ल्याएको फौजदारी कानुनसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेर टीकापुर घटनाका राजबन्दीहरूको रिहाइका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
‘त्यस्तै सरकारी निकायहरूमा थारूहरूलाई आरक्षणको व्यवस्था गर्नसमेत माग गरिएको छ । प्रधानमन्त्रीज्युले विश्वासको मत लिएपछि टीकापुर घटना र संघीय निजामती ऐनमार्फत् थारू आरक्षणको व्यवस्था गर्ने आश्वासन दिनुभएको छ ।’ सभाका महामन्त्री चौधरीले भने ।
भेटवार्तामा थारू आयोगका तर्फबाट अध्यक्षसहित सदस्यहरू उमाशंकर चौधरी, शान्ति मोदी सहभागी थिए। त्यस्तै माओवादी नेता सन्तकुमार थारू, कानुनलाल चौधरीसमेत बैठकमा सहभागी थिए ।