काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको बहस सकिएको छ । शुक्रबार कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासमा भएको सुनुवाइ सकिएको हो । सुनवाइ सकिएसँगै आजै आदेश जारी गर्ने तयारी छ ।
दुबै पक्षका वकिलहरूको बहस सुनेपछि निर्णय गर्न अहिले न्यायाधीशहरू छलफलमा जुटेका छन्। रिट निवेदकको मागबमोजिम अन्तरिम आदेश दिने कि नदिने भन्नेबारे इजलासले आजै आफ्नो निर्णय सुनाउने छ ।
सुनुवाइका क्रममा बहस गरेका रिट निवेदक पक्षका वकिलले लामिछानेले रद्द भइसकेको नेपाली नागरिकता राखेर पासपोर्ट बनाएको, पार्टी दर्ता गरेको र चुनाव लडेको तर्क गरेका छन् ।
‘लामिछानेले अमेरिकी नागरिकता लिएपछि नेपाली नागरिकता त्याग्नुपर्थ्यो। नत्यागे पनि कानुनअनुसार त्यो स्वतस् रद्द हुन्छ,’ रिट निवेदकका वकिलले भने,‘रद्द भइसकेको नागरिकता फेरि नलिइकन उहाँले पार्टी दर्ता गर्नुभयो र चुनाव लड्नुभयो। रद्द भइसकेको नागरिकता फेरि प्रयोगमा ल्याउनु गैरकानुनी हो ।’
रिट निवेदकका तर्फबाट अधिवक्ता सुरेन्द्र भण्डारी, रमण कर्णलगायतले बहस गरेका थिए। गैरकानुनी नागरिकतामा चुनाव लडेर लामिछाने सांसद र मन्त्री बनेकाले यसलाई रोक्न अन्तरिम आदेश दिनुपर्ने उनीहरूको माग छ ।