काठमाडौं – सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी कर्मचारीहरूले पेशागत प्रशिक्षणद्वारा व्यावसायिक, नैतिक र चरित्रवान बनाइ राज्यप्रदत्त जिम्मेवारी प्रभावकारीरूपमा निर्वाह गर्दै आइरहेको बताएका छन् ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकको निरीक्षण भ्रमणपछि आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सशस्त्र प्रहरी नागरिकको सेवा, सुरक्षा, सहयोग र विपद्मा परेकाहरूको उद्वार तथा सिमानाको सुरक्षार्थ दरिलो खम्बा बनेर अहोरात्र परिचालित रहँदै आएको उल्लेख गरे ।
आन्तरिक प्रशासनलाई प्रणालीगत गर्दै निश्चित पद्धतिमा सङ्गठनलाई चल्ने अवस्था सिर्जनाका लागि पारदर्शिता र जवाफदेहितासहितको पूर्वानुमानयोग्य सरुवा, बढुवा, कमाण्ड, तालिम, युएन मिसन तथा कल्याणकारी कार्यक्रम एवं विभिन्न अवसरहरूलाई न्यायसङ्गत वितरणको प्रक्रिया थालनी गरिएको पनि उनले बताए ।