हेटौँडा । मकवानपुरमा मापदण्डबिना सञ्चालन गरिएका १०२ अवैध क्रसर उद्योग बन्द भएका छन् । बुधबार गृहमन्त्रालयले देशभरका जिल्ला प्रशासनलाई अवैध क्रसर उद्योगलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएपछि मकवानपुरका १०२ अवैध क्रसर उद्योग बन्द भएका हुन् ।
बुधबार गृहमन्त्रालयले देशभरका जिल्ला प्रशासनलाई अवैध क्रसर उद्योगलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको थियो । त्यसलगत्तै सरोकारवालाको बैठकले सबै क्रसर उद्योग बन्द गर्न सम्बन्धित व्यक्तिलाई जानकारी गराएको थियो ।
दर्ता नगरिएका, नवीकरण नभएका, सञ्चालन अनुमति नलिई ढुंगा, गिटी, रोडा तथा बालुवा उत्खनन् र प्रशोधन गरिरहेका क्रसरलाई प्रहरीको सहयोगमा स्थानीय प्रशासनले बन्द गराएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताए ।
मकवानपुरमा गत आर्थिक वर्षसम्म जिल्लाभरका ७१ वटा क्रसर उद्योगले राजश्व बुझाएको तथ्यांक छ ।