७७ वर्षीय आमाको आर्शिवाद लिंदै दुर्गाप्रसाइले घोषणा गरे धर्म र राष्ट्र बचाउने महाअभियान


काठमाडौं । समाजसेवी दुर्गा प्रसाइको संयोजकत्वमा आजदेखि राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान सुरु भएको छ ।
शनिबार काठमाडौैंको पेरिस डाँडामा केन्द्रीय कार्यलय स्थापना गर्दै उक्त अभियान सुरु गरिएको हो ।

महाअभियानले १ सय १ एक जनाको केन्द्रीय कार्यसमिति घोषणा गर्दै आजबाट अभियान सुरु भएको जनाएको हो ।
महाअभियानको संयोजक प्रसाइले आफ्नी ७७ वर्षीय आमाको आर्शिवाद लिँदै अभियान सुरु भएको घोषणा गर्नुभयो । उहाँले आफ्नो अभियानले राष्ट्र र राष्ट्रियताको संरक्षण र सबलीकरण गर्ने , सनातन धर्मको संरक्षण र सम्बर्द्धन गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने र सुशासन कायम राख्ने, आर्थिक विकृति, विसंगति विरुद्ध सशक्त ढंगले आवाज उठाउने बताउनुभयो ।

आफ्नो अभियानले विकास र समृद्धिका लागि स्वदेशी तथा वैदेशिक लगानीको प्रवर्द्धन गर्ने,बन्द भएका सरकारी उद्योग कलकारखाना तथा व्यवसायको सुचारु गर्न दवाव दिने,जनताको जीवनस्तर माथि उकास्न गरिवी न्युनीकरणका कार्यक्रमहरु लागु गर्न दवाव दिने लगायतका ऐजेन्डाहरु उठाउने उहाँले बताउनुभयो ।

संयोजक प्रसाइले आफ्नो अभियानले वर्षेनी लाखौं युवाहरुलाई रोजगारी दिने, देशभित्र रहेका सक्षम र विज्ञ व्यक्तिहरुलाई आर्थिक समृद्धिको कार्यक्रममा अघि बढाउने, देशभित्र रहेका खानी तथा खनिज पदार्थहरुको अध्ययन गरी उत्खनन् गर्ने ऐजेण्डासमेत बोकेको बताउनुभयो ।
उहाँले आफुहरुले किसानको हकहितका लागि आवाज उठाउने, कृषिको आधुनिकीकरण तथा व्यावसायीकरणमा जोड़ दिने बताउनुभयो ।