कानुनको विधि र सीमामा नरही काम गरेकै कारण सहकारी क्षेत्रमा समस्या देखिए हो : राजेन्द्रकुमार राई


काठमाडौँ –भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले कानुनको विधि र सीमामा नरही काम गरेकै कारण सहकारी क्षेत्रमा समस्या देखिएको बताउनुभएको छ ।
आर्थिक मिडिया सञ्चालक सङ्घले आइतबार काठमाडौँमा आयोजना गरेको सहकारीमा सङ्कट : कारण र समाधान विषयक अन्तर्क्रिया कार्यक्रममा मन्त्री राईले सबैले विधिमा रहेर सीमामा रहेर र कानुनलाई अवज्ञा नगरी काम गर्नुपर्नेमा त्यसो नभएकाले सहकारीमा समस्या देखिएको बताउनुभएको हो ।
उहाँले सरकारीले गाँउगाँउमा धेरै राम्रो काम गरे पनि सहकारीको नकारात्मक हल्लाले समस्या देखिएको धारणा राख्नुभयो । सहकारीमा देखिएका समस्याहरू समयमा नै समाधान गरी यसलाई सहज रूपले व्यवस्थापन गर्नुपर्ने उहाँको भनाइ छ ।
मन्त्री राईले सहकारीका विषयमा देखिएका समस्याहरू समाधानका उपायहरूका बारेमा जानकारी गराउन आग्रह गर्दै अध्ययन गरी उचित समाधानको बाटो खोजिने बताउनुभयो ।
कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका बोर्ड सदस्य चिन्तामणी सिवाकोटीले अनुगमन गर्ने निकायलाई व्यवस्थित गर्न नसक्दा समस्या देखिएको बताउनुभयो । उहाँले ५० करोड भन्दा बढीको पुँजी भएको सहकारीलाई नेपाल राष्ट्र बैङ्कले हेर्नुपर्छ भनिए पनि राष्ट्र बैङ्कसँग त्यो अधिकार नै नरहेको जिकिर गर्नुभयो ।
त्यस्तै उहाँले विश्वभर आएको आर्थिक मन्दीको असर पनि सहकारीमा देखिएको बताउनुभयो ।