वीरगञ्जमा दोस्रो पटक रात्रि बजार सञ्चालन

NepalOne ३० वैशाख २०८० ७:२१
अर्थ समाचार

वीरगञ्ज-वीरगञ्ज महानगरपालिकाले दोस्रो पटक शुक्रबारदेखि रात्रि बजार लगाएको छ । अर्थतन्त्र चलायमान बनाउने उद्देश्यले नयाँ वर्षदेखि सुरु गरिएको रात्रि बजारलाई निरन्तरता दिन आजदेखि दुई दिने रात्रि बजार लगाएको हो ।

हरेक महिनाको अन्तिम शुक्रबार र शनिबार रात्रि बजार लगाउने योजनाअन्तर्गत शुक्रबार र रात्रि बजार लगाइएको वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले जानकारी दिनुभयो ।

रात्रि बजार व्यवस्थापन समितिको बैठकले नयाँ पर्वलाई दृष्टिगत गरी २०७९ चैत ३० देखि २०८० वैशाख २ गतेसम्म लगाइएको रात्रि बजार प्रभावकारी भएपछि यसलाई अझै विस्तार गर्दै लैजाने निर्णयबमोजिम दोस्रो पटक वैशाख २९ र ३० दुई दिने रात्रि बजार लगाइएको महानगरप्रमुख सिंहले बताउनुभयो ।

रात्रि बजारका लागि वीरगञ्जको माइस्थान चोकदेखि आदर्शनगर चोक हुँदै पशुपति घोष चोकसम्म विभिन्न स्टल राखिएको छ । विशेष गरेर विभिन्न खानाका परिकार, लत्ताकपडा, जुत्ताचप्पल तथा अन्य विविध किसिमका स्टल राखिएको रात्रि बजार व्यवस्थापन समितिका सदस्यसमेत रहेका ग्रिनसिटी सामुदायिकका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिनुभयो ।

वीरगञ्जको व्यापार व्यवसाय अबेरसम्म सञ्चालन गर्ने वातावरण बनाउन रात्रि बजारलाई निरन्तररूपमा अघि बढाउने प्रयास गरिएको र यसबाट बजार चलायमान बन्ने महानगरप्रमुख सिंहको भनाइ छ ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घले बजारको नेतृत्व लिएर अघि आउन आग्रह गर्नुहुँदै महानगरप्रमुख सिंहले सुरक्षा तथा अन्य व्यवस्थापनको जिम्मा महानगरले लिने पनि बताउनुभयो ।

उहाँले रात्रि बजार लाग्ने समयमा नेपाल भारत मुख्य सीमा राति १ बजेसम्म खुल्ने व्यवस्था मिलाइएकाले सीमापारका पर्यटकको आगमन बढ्ने र बजार चलायमान हुने विश्वास पनि व्यक्त गर्नुभयो ।

नयाँ वर्षमा पुरानो बसपार्कमा राखिएका स्टल अबदेखि भने सडक पेटीमै राखेर बजार सञ्चालन गराइने जनाएको छ ।

कोभिड–१९ का कारण अर्थतन्त्र पछिल्लो पटक आएको आर्थिक मन्दीका लागि झन् बिग्रिएपछि बजारको रौनक फिर्ता ल्याउँदै त्यसलाई चलायमान बनाउने उद्देश्यले रात्रि बजार सञ्चालन गरिएको सिंहको भनाइ छ ।


प्रतिक्रिया