इजरायलद्वारा इरानमा हवाई हमला


बीबीसी । इजरायलले इरानी सैन्य स्थलहरूमा निशानाबद्ध हवाई हमला गरेको जनाएको छ । ती हमलालाई इजरायलले आफूविरुद्ध इरान र उसको साथ पाएका समूहहरूले बारम्बार गरेका हमलाको जवाफ भएको बताएको छ ।
इजरायली सेनाले हमलाको काम पूरा भएको जनाउँदै आफ्ना विमानहरू सुरक्षित रूपमा घर फर्किएका जनाएको छ । तर कुन–कुन ठाउँहरू प्रहार गरिएको हो र क्षतिको तह कस्तो छ भन्ने प्रस्ट भइसकेको छैन ।
इजरायली डिफेन्स फोर्सेस आईडीएफका प्रवक्ता ड्यान्यल हेगारीले आफ्नो प्रतिरक्षा गर्ने ‘अधिकार र दायित्व’ इजरायलसामु भएको जनाएका छन् । तीन साताअघि इरानले इजरायलमा झण्डै दुई सयको सङ्ख्यामा बलिस्टिक क्षेप्यास्त्रहरू प्रहार गरेको थियो ।
इजरायली हमलासँगै इरानको राजधानी तेहरान र त्यसनजिकका दुई सहरहरूमा विस्फोटनका आवाज सुनिएका छन् । इरानको रेभुलस्नरी गार्ड्सनिकट एक समाचार संस्थाका अनुसार इरानको राजधानीको पश्चिम र दक्षिण पश्चिममा रहेका सैन्य आधारहरू निशानामा पारिएका छन् ।
इजरायली हवाई हमलाको निशानामा सिरियाको राजधानी दमास्कससहित देशका मध्य र दक्षिणी क्षेत्रका सैन्य स्थल समेत पारिएको सिरियाको सरकारी समाचार संस्थाले जनाएको छ । इजरायलले भने इरानबाहिर भएका हमलाका विवरणबारे प्रतिक्रिया जनाएको छैन ।
अहिलेसम्मको अवस्थामा इरानी सरकारी सञ्चारमाध्यमले भने आफूविरुद्धका हमला असफल भएको बताएका छन् । तर विज्ञहरूले त्यस्ता हमलापछि त्यो इरानले सामान्यतः दिने प्रतिक्रियाको शैली भएको बताएका छन् । गम्भीर क्षति वा मृत्युका विवरण सतहमा देखापरेमा त्यो परिवर्तन हुनसक्ने भन्दै विज्ञहरूले सजग गराएका छन् ।
ह्वाइटहाउसले इजरेलको ‘आत्मरक्षाको अभ्यास’मा अमेरिकाको कुनै संलग्नता नरहेको जनाएको छ । बेलायत सरकारका एकजना प्रवक्ताले लण्डनले ‘यस अवस्थालाई नजिकबाट हेरिरहेको’ जनाएका छन् । इरानको नागरिक उड्डयन निकायका प्रवक्ताले आईआरएनएलाई अर्को सूचना नहुँदासम्म त्यहाँ सबै उडानहरू रद्द गरिएको जनाएका छन् ।