मस्कको राजनीतिक समूहले ‘स्विङ स्टेट’मा १० लाख डलर वितरण गर्न पाउने फैसला


बीबीसी । इलोन मस्कको राजनीतिक समूहले अमेरिकी राष्ट्रपति निर्वाचनमा निर्णायक हुने ठानिएका विभिन्न ‘स्विङ स्टेट’मा १० लाख डलर वितरण गर्न पाउने फैसला एक न्यायाधीशले सुनाएका छन् । मस्कको अमेरिका ’पीएसी’ले पुरस्कार दिने उक्त अभियान मङ्गलबार सम्पन्न हुनेछ ।
अन्तिम प्रापक छनोट भइसकेको अमेरिकी धनाढ्यका वकिलले सोमबार भएको एउटा सुनुवाइमा बताएका छन् । सबैलाई छक्क पार्ने गरी ती वकिलले पुरस्कार प्राप्त गर्ने व्यक्तिहरू चिट्ठाको विधिबाट नछानिएको बताए।
उनका अनुसार सबै विजेताको नाम सो समूहले नै छानेको हो । फिलाडेल्फियाका सरकारी वकिल लरेन्स क्र्यास्नरले निर्वाचनमा महत्त्वपूर्ण प्रभाव पार्ने ठानिएका ट्रम्प वा ह्यारिस ‘जोसुकैको पक्षमा पनि जान सक्ने’ राज्यहरूका एक मतदातालाई मतदानको दिनअघिसम्म प्रत्येक दिन १० लाख अमेरिकी डलर दिने बताएका थिए ।
समाचारसंस्था एपीका अनुसार पेन्सिल्भेनियाका न्यायाधीश एन्जेलो फोग्लिएटाले उक्त फैसला दिनुको कारण खुलाएका छैनन्। तर सुनुवाइ भएको केही घण्टापछि नै उक्त आदेश आएको हो ।
सोमबार अमेरिका पीएसीले एरिजोनाका जोशुआ भन्ने व्यक्तिले उक्त दिनको पुरस्कार पाएको घोषणा गरेको थियो । मस्कले सञ्चालन गरेको पीएसीले सामाजिक सञ्जाल ’एक्स’मा चुनावको दिनसम्म आफ्नो अभियानमा सहभागी हुने अमेरिकी मतदातामध्येबाट छानिएका एक व्यक्तिलाई प्रत्येक दिन १० लाख डलर पाउन छानिने बताएको थियो ।