भोलि भारत भ्रमणमा जाँदै प्रधानमन्त्री देउवा, यस्ता छन् कार्यक्रम

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा छिमेकी मित्रराष्ट्र भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा शुक्रबार नयाँ दिल्ली जाँदैछन्। उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा त्यसतर्फ जान लागेका हुन् ।
पाँचाँैपटक प्रधानमन्त्री भएपछिको उनको यो पहिलो औपचारिक भ्रमण हो । भ्रमण टोलीमा देउवा पत्नी आरजु राणा देउवासहित परराष्ट्रमन्त्री नारायण खड्कालगायत मन्त्रीहरु, सचिवहरु तथा पदाधिकारीहरु रहेको जनाइएको छ ।
प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल शुक्रबार दिउँसो १ बजेर २५ मिनेटको नेपाल वायुसेवा निगमको नियमित उडानबाट नयाँदिल्ली जाने भएका हुन् । नयाँ दिल्लीमा प्रधानमन्त्री देउवाको स्वागत भारतीय जनता पार्टीका अध्यक्ष श्री जेपी नड्डाजीले गर्नेछन् ।
शुक्रबार साझँ नै भारतीय जनता पार्टीको हेडक्वाटरमा उनीहरुबीच ‘पार्टी टु पार्टी’ सम्बन्ध बनाएर अघि बढ्ने र एक अर्काको अनुभव आदानप्रदान गर्नेगरी कुराकानी हुने जनाइएको छ । अहिले त्यस स्थानमा अहिलेदेखि नै सुरक्षा व्यवस्था कडा पारिएको छ ।
यस्तै भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवासहितको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको पनि आयोजना गरेका छन् ।