प्रधानमन्त्री देउवाको तीन दिने भारत भ्रमणको कार्यतालिका यस्तो

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा शुक्रबार नयाँ दिल्ली जाँदैछन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी त्यसतर्फ जान लागेका हुन् ।
पाँचाँैपटक प्रधानमन्त्री भएपछिको उनको यो पहिलो औपचारिक भ्रमण हो । भ्रमण टोलीमा देउवा पत्नी आरजु राणा देउवासहित परराष्ट्रमन्त्री नारायण खड्कालगायत मन्त्रीहरु, सचिवहरु तथा पदाधिकारीहरु रहेको जनाइएको छ । भारतीय समय अनुसार उनी शुक्रबार दिउँसो १ बजे दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने कार्यक्रम रहेको छ ।
दिल्ली पुगेर चाडक्यपुरमको आइटीसी मौर्य होटलमा एकछीन आराम गरेपछि उनको भेटघाटको कार्यक्रम शुरु हुनेछ । मन्त्री एस जयशंकरले भारतीय समय अनुसार दिउँसो ४ बजेर ३० मिनेटमा सोही होटलमा भेटवार्ता गर्ने छन् । उनीहरुबी पार्टी टु पार्टी छलफल हुनेछ ।
त्यसपछि शनिबार उनले विहान १० बजेर ४० मिनेटमा महात्मा गान्धीको समाधीस्थल राजघाट पुगेर पुष्प अर्पण गर्ने कार्यक्रम रहेको छ । शनिबार नै ११ बजेर १० मिनेटमा देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । सोही दिन उनले भारतका मल्टिनेशनल कम्पनीका सिइओहरुसँगको भेटघाट गर्ने छन् ।
यस्तै सोही दिन अपराह्न साढे ४ बजे मौलाना आजाद रोडमा भारतीय उपराष्ट्रपतिसँग प्रधानमन्त्री देउवाले शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका रहेको छ ।उपराष्ट्रपतिसँगको भेटवार्तापछि उनले भारतमा रहेका नेपाली व्यवसायीसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ ।
त्यसपछि आइतबार ९ बजे देउवा बाराणसी पुग्ने छन् । त्यहाँ उनले पशुपतिनाथ मन्दिर र काशि विश्वनाथको दर्शन गर्ने कार्यक्रम रहेको छ । बाराणसीको कार्यक्रमपछि उनी ४ बजे दिल्ली फर्किएर ४ बजेर १५ मिनेटमा काठमाडौं फर्कनेछन् ।