काठमाडौ– नेकपा एमालेको बागमती प्रदेश अधिवेशन काठमाडौंमा सुरु भएको छ । अधिवेशन उदघाटनअघि राजधानीका बिभिन्न स्थानबाट निकालिएको -याली अधिवेशनस्थल भृकुटीमण्डप पुगेको थियो । बागमतीमा नयाँ नेतृत्वका लागि पार्टीको केन्द्रीय सदस्यदेखि वर्तमान अध्यक्ष सम्म आकांक्षी देखिएका छन् । एमाले बागमती प्रदेश अध्यक्षका लागि केन्द्रीय सदस्य कृष्णप्रसाद दाहाल, रचना खड्का, कैलाश प्रसाद ढुङ्गेल, एमाले बागमती प्रदेश अध्यक्ष केशवराज पाण्डे र सानुकुमार श्रेष्ठ अग्रपंतीमा देखिएका छन् । अध्यक्षमा आकाङ्क्षीमा दाहाल मकवानपुरका हुन् । प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिमा सभापति समेत भइसकेका दाहाल पार्टीमा निष्कृयजस्तै देखिएपनि प्रदेश कमिटको नेतृत्वमा चाहना राखेका हुन् । रामेछापका ढुङ्गेलसहित नुवाकोटका पाण्डे र काठमाडौँका सानुकुमार श्रेष्ठ र दोलखाकी खड्काको नाम पनि चर्चामा छ ।
संघीयता पछि एमालेको प्रादेशिक संरचनाको अध्यक्षको जिम्मेवारी पाएका पाण्डे दोहोरिने दाउमा छन् । तर, अध्यक्ष ओलीले रामेछापका ढुङ्गेल वा श्रेष्ठलाई अध्यक्ष बनाउन चाहेको ओली निकट नेताले बताउँदै आएका छन् । अध्यक्षको चाहना बमोजिम ढुङ्गेल वा श्रेष्ठले नेतृत्वमा बाजी मार्ने धेरैको आँकलन छ । ढुङ्गेल बागमती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री समेत भइसकेका नेता हुन् ।
एक लाख नौ हजार सङ्गठित सदस्य रहेको एमाले बागमती प्रदेश अधिवेशनका लागि १ हजार १ सय ३८ प्रतिनिधि छनोट भएका छन् । बागमतीका १३ वटै जिल्लाले प्रतिनिधि छनोटको काम सकेर प्रदेशमा पठाएको एमाले बागमती प्रदेशले जनाएको छ । अधिवेशनका लागि सबैभन्दा बढी प्रतिनिधि काठमाडौँबाट रहेका छन् । काठमाडौबाट १३२ जना प्रतिनिधि छनोट भइसकेका छन् । यस्तै, काभ्रेबाट १२५, मकवानपुरबाट १०६ जना प्रतिनिधि छनोट भएका छन् । धादिङबाट ८७, दोलखाबाट ६५, रसुवाबाट २७, सिन्धुपाल्चोकबाट ६४, रामेछापबाट ८१, नुवाकोटबाट ६४, ललितपुरबाट ५०, भक्तपुरबाट ६६, सिन्धुलीबाट ६६ र चितवनबाट ८५ जना प्रतिनिधि छनोट भएका छन् ।
एमालेले १२५ सङ्गठित सदस्यमध्ये एक जना प्रतिनिधि छनोट हुने व्यवस्था गरेको छ । अधिवेशनबाट १ अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र २ उपसचिवसहित २४० सदस्यीय कमिटी चयन हुनेछन् । कमिटीमा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गरिएको छ । १० प्रतिशत ४० वर्ष भन्दा कम उमेर समूहका व्यक्ति रहने छन् भने जनजाति, पिछडिएको वर्ग, दलितहरूको सहभागितामा कमिटीलाई समावेशी बनाइने एमालेले जनाएको छ ।