राष्ट्रपतिद्वारा भूकम्पबाट क्षति भएको थाप्लेको निरीक्षण

जाजरकोट – राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोटको भेरी नगरपालिका–१ को भूकम्पमा परी घाइते हुनुभएकी सितली कामीलाई जिल्ला अस्पतालमा पुगेर भेटेका छन् । बिरामीसँग स्वास्थ्य अवस्थाबारे जानकारी लिनाका साथै उनले बिरामीको गुनासो समेत सुनेका थिए । सितलीको घर निर्माणका लागि आवश्यक सामग्री उपलब्ध गराइने जानकारी गराउँदै राष्ट्रपति पौडेलले भत्किएका संरचनाको पुनः निर्माण गरिने तर अहिले बाँचेकाहरूको अस्थायी बसोबासको कुरालाई ध्यान दिनुपर्नेमा जोड दिए ।
यसैगरीे भेरी–३ स्थित थाप्लेमा भूकम्पबाट भत्किएको संरचना अवलोकन गरेका राष्ट्रपति पौडेलले पहिले आफू उक्त ठाउँमा आएर बसेको स्मरण गर्दै तत्काल यहाँ पुनःनिर्माणको कामलाई तीव्रता दिइने बताए । ठाँटीबजारबाट माथिल्लो थाप्लेस्थित भत्किएका घरको बीच बाटो हुँदै भत्किएका घरहरु तथा नलगाड नगरपालिकाको उपप्रमुख सरिता सिंह भूकम्पमा परी मृत्यु भएको थाप्लेको घरसमेत उनले अवलोकन गरे ।
उपप्रधानमन्त्री पूर्णबहादुर खड्का तथा ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत भूकम्पपीडितको उद्धार र उपचारमा लागिरहनुभएकाले अब समस्या समाधान हुँदै जाने र सरकारले सबै समस्या समाधान गर्ने राष्ट्रपति पौडेलले बताए ।