संघीय सरकारविरुद्ध मधेश प्रदेश सरकार आन्दोलनमा

जनकपुर– बिभिन्न अधिकारको माग राखेर संघीय सरकारलाई अल्टिमेटम दिँदै आएको मधेस प्रदेश सरकारले संघीय सरकारविरूद्ध आन्दोलनमा जाने भएको छ । संविधान र संघीय संरचनाको मर्मअनुसार संघीय सरकारले प्रदेशको अधिकार दिन नमानेपछि मधेस प्रदेश सरकार संघविरुद्ध आक्रमक बनेको हो ।
प्रहरी समायोजन, निजामती सेवाका कर्मचारीको खटनपटनल, गुठीको जग्गा र वन क्षेत्रको मुद्दामा मधेस सरकारले संघ सरकारलाई अन्तिम पटक अल्टिमेटम दिँदै आन्दोलन अघि बढाउन लागेको हो । मधेस प्रदेश सरकारले आन्दोलनका कार्यक्रमबारे बुधबार दिउँसो मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दैछ ।
सोमबार मुख्यमन्त्री, मन्त्री लगायतको उपस्थितीमा बसेको सर्वदलीय बैठकले संघीय सरकारले प्रदेशको अधिकार हस्तान्तरण नगरे काठमाडौंस्थित माइतीघर मण्डलमा धर्ना दिने निर्णय समेत गरेको थियो ।
सर्वदलीय बैठकले प्रधानमन्त्री दाहालसमक्ष संघीय सरकारले रोकिराखेका प्रहरी समायोजन, निजामती कर्मचारीको खटनपटन, गुठीको जग्गा र वन क्षेत्रलाई प्रदेश सरकारको अधिकार क्षेत्रमा ल्याउनुपर्ने लगायतका माग राखेर ज्ञापनपत्र बुझाउने पनि जनाएको छ ।