चीनद्वारा भूकम्पपीडितलाई प्रदान गरिएको राहत सामग्री ग्रहण

2 Shares

कास्की– उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चीन सरकारले भूकम्पपीडितका लागि प्रदान गरेको राहत सामग्री ग्रहण गरेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज आयोजित आपत्कालीन सहयोग हस्तान्तरण समारोहमा नेपालका लागि चिनियाँ राजदूत छन् सोङले चीन सरकारले प्रदान गरेका राहत सामग्री उपप्रधानमन्त्री श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।
चीनले पीडितका लागि प्रदान गरेका उच्च गुणस्तरका ब्ल्याङ्केट, टेन्टलगायत सामग्री चीनको छेन्दु विमानस्थलबाट दुईवटा विमानमार्फत आज पोखरा विमानस्थलमा ल्याइएको हो ।

सहयोग हस्तान्तरण समारोहमा उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले नेपाललाई सङ्कट पर्दा जहिले पनि चीनबाट सहयोग प्राप्त हुने गरेको बताए । नेपाल र चीनबीचको इतिहासदेखिको सम्बन्ध सार्वभौमसत्ता, स्वतन्त्रता र पारस्परिक हितमा आधारित रहेको उनको भनाइ छ ।
“नेपालको आर्थिक विकाससँगै सङ्कटको बेला जहिले पनि चीनले सहयोग गर्दै आएको छ । चीन सरकारले हामीलाई सङ्कटका समयमा सहयोग र सहानुभूति प्रदान गर्दै आएको छ”, उपप्रधानमन्त्री श्रेष्ठले भने, “विसं २०७२ को भूकम्प, कोभिड महामारी र अहिले जाजरकोटमा गएको भूकम्पका बेला पनि चीन हामीसँगै छ ।”

नेपालका लागि चिनियाँ राजदूत सोङले दुई देशबीचको सम्बन्ध मित्रताको रहेको जनाउँदै सङ्कटमा पनि एकअर्कालाई सहयोग गर्दै अघि बढेको बताए । केही दिनअघि गएको भूकम्पबाट भएको क्षतिप्रति उनले दुःख व्यक्त गरे । “दुःखको बेला नेपाली जनता र नेपाल सरकारसँग चीन साथमा छ,” उनले भने ।

चिनियाँ राष्ट्रपतिले नेपालमा भूकम्पबाट भएको क्षतिप्रति घटनालगत्तै नेपालका राष्ट्रपति र प्रधानमन्त्रीलाई समवेदना सन्देश पठाएर पीडित परिवारप्रति सहानुभूति प्रदान गर्नुभएको राजदूत सोङले जानकारी दिए । चीनद्वारा भूकम्पपीडितका लागि प्रदान गरिएका राहत सामग्री सशस्त्र प्रहरीले प्रभावित क्षेत्रमा पठाउने तयारी गरेको कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरले जानकारी दिए ।

सम्बन्धित समाचार

सबै