यमनविरुद्ध खेल्न नेपाली खेलाडी तयारी अवस्थामा

4 Shares

काठमाडौ– फिफा विश्वकप र एएफसी एसिया कपको छनोट चरणको दोस्रो खेलमा नेपालले मंगलबार यमनसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र यमनबीचको खेल काठमाडौंको त्रिपुरेश्वरस्थीत दशरथ रंगशालामा मंगलबार साँझ ७ बजे सुरु हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । फिफा बरियतामा यमन १ सय ५६ औं स्थानमा छ भने नेपाल १ सय ७३ औं स्थानमा रहेको छ । नेपाली राष्ट्रिय फूटवल टिमले अर्को चरण पुग्नका लागि खेल जित्नेपर्ने भएकाले शतप्रतिशत दिएर खेल्ने जनाएको छ । सोमबार काठमाडौंमा आयोजित प्रि–म्याच कम्फ्रेन्समा प्रमुख प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले अंक जोड्नका लागि नेपाललाई उक्त खेल निकै महत्वपूर्ण रहेको बताए । यमन नेपालभन्दा बलियो टिम रहेपनि सम्पूर्ण ध्यान खेलमा केन्द्रीत गर्दै उत्कृष्ठ खेल प्रर्दशन गर्ने उनले बताए ।

यस्तै कप्तान किरण लिम्बुले खेलका लागि राम्रो तयारी भएको र जित हासिल गर्नेगरि मैदान उत्रने बताए । घरेलुमा खेल खेल्न पाउदा निकै उत्साहित रहेको र केहि दवाव हुनु स्वभाविक रहेको उनले बताए । छनोट चरणको पहिलो खेलमा नेपाल घरेलु टोली यूएईसँग ४–० ले पराजित भएको थियो । यमनसंगको खेलका लागि एन्फाले साधारण पाराफिटतर्फ ४ सय र भिआइपी पाराफिटतर्फ १ हजार रुपैयाँ टिकट दर कायम गरेको छ । प्रतियोगिताको अनुमानित बजेट ७३ लाख ६८ हजार ४ सय रुपैयाँ रहेको एन्फाले जनाएको छ ।

सम्बन्धित समाचार

सबै