काठमाडौ । आइसिसी यू–१९ विश्वकपअन्तर्गत आजको खेलमा नेपालले बंगलादेशलाई १७० रनको लक्ष्य दिएको छ । दक्षिण अफ्रिकाको माङगाउन ओभलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ४९.५ ओभरमा १६९ रन मात्र जोड्न सकेको हो ।
नेपालका मध्यक्रमका ब्याटर विशालविक्रम केसीले सबैभन्दा धेरै ४८ रन बनाए । उनले १०० बल खेल्दा ६ चौका प्रहार गरेका थिए ।
खराब सुरूवात गरेको नेपालले ९ ओभर चल्दा दुवै ओपनरसहित तीन विकेट गुमाएको थियो भने २९ रन जोडेको थियो । ओपनिङ ब्याटर विपिन रावलले २ , आकास त्रिपाठी ३, अर्जुन कुमाल १४ रन बनाएर आउट भएका थिए । यस्तै, कप्तान देव खनालले ६० बलमा ३ चौकाको मद्दतमा ३५ रन जोडेका थिए । गुल्सन झा, दिपक बोहरा र दिपेश कँडेल ३÷३ रन मात्रै बनाएर आउट भएका थिए । आकास चन्द भने शून्य रनमै आउट भए । अन्तिमसम्म ब्याटिङ रहेका सुवास भण्डारीले नटआउट १८ रन जोडे । नेपालका लागि एक मात्र छक्का हिर्काएका दुर्गेश गुप्ताले अन्तिम विकेटको रुपमा आउट हुनुअघि ९ रन बनाए ।
बलिङतर्फ भने बंगलादेशका रोहानत बोर्सनले ४, शेख जीवनले ३ विकेट लिएका थिए ।