तीनवटै अन्तर्राष्ट्रिय विमानस्थल ‘पीपीपी’ मोडेलमा सञ्चालन गर्ने सरकारको तयारी

तीनवटै अन्तर्राष्ट्रिय विमानस्थल ‘पीपीपी’ मोडेलमा सञ्चालन गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा सञ्चालन गर्न दिने तयारी गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको समिति गठनको प्रस्ताव बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत गरिएको छ । पीपीपी मोडेलमा विमानस्थल सञ्चालनबारे अध्ययन गर्न पूर्वसचिव शंकरप्रसाद अधिकारीको संयोजकत्वमा लगानीविज्ञ घनश्याम ओझा, पर्यटन मन्त्रालयको हवाई महाशाखाका प्रमुख बुद्धिसागर लामिछाने, लगानी बोर्डका सहसचिव, सदस्यसचिव र नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक दीपेन्द्र श्रेष्ठ सदस्य रहने गरी पाँच सदस्य समिति गठन गरिएको हो । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने कम्पनीलाई नै यी तीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मेवारी दिन लागिएको हो ।

त्यसैगरी नेपाल वायुसेवा निगम व्यवस्थापन करारमा दिन राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा व्यवस्थापन विज्ञ टीकाराम राई, पर्यटन विभाग महानिर्देशक, अर्थ मन्त्रालयका प्रतिनिधि र वायुसेवा निगम अर्थ विभाग प्रमुख सदस्य रहने गरी पाँच सदस्यीय समिति तयार गरिएको पर्यटन मन्त्रालयले जनाएको छ ।

समितिलाई ४५ दिनको समय अवधि दिइएको छ । गत पुस २० गते बसेको नागरिक उड्डयन प्राधिकरणको बोर्ड बैठकबाट यी तीन विमानस्थलको सञ्चालनमा निजी क्षेत्रलाई भित्राउने अवधारणा बनाएर मन्त्रालयमा पेस गरिएको थियो ।

Reporter