काङ्ग्रेसको विकल्प कम्युनिस्ट र कम्युनिस्टको विकल्प काङ्ग्रेस रहुन्जेल देश अघि बढ्दैन

केशवप्रसाद भट्टराई ।
(प्रजातान्त्रिक दलको विकल्प साम्यवादी दल र साम्यवादी दलको विकल्प प्रजातन्त्रवादी दल हुने अवस्थाले मुलुकलाई दिने गरेको यो अवस्थामा रविन्द्र मिश्र, राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील पार्टीको सन्दर्भ)

१. ज्ञान, उर्जा, वाक कौशल, जोखिम साहस र नेतृत्व क्षमताको सवालमा रविन्द्र मिश्र अब्बल छन् । तर उनले विवेकशील पार्टी छोडेर राष्ट्रिय प्रजातन्त्र पार्टीमा जाँदा राजनीतिक विवेक प्रदर्शन गरेनन् । राष्ट्रिय प्रजातन्त्र पार्टी र राजनीतिक अवसरवाद झन्डै झन्डै पर्याय नै हुन् । स्थापनाकालदेखि आजसम्म त्यो देखिदै आएको छ । आन्तरिकरूपमा त्यो पार्टी बनेकै छैन । वैचारिक रूपमा त झनै अन्यौलग्रस्त छ ।

२. ऊता, रविन्द्र मिश्रको विचारलाई लिएर उनको उछित्तो काढ्ने विवेकशील पार्टीका बाँकी नेतृत्व यतिखेर कता हराएको छ, थाहा छैन । तर राष्ट्रको लागि त्यहाँ भएका व्यक्तिको उर्जा, सम्भावना र विश्वासको उपयोग र संरक्षण आवश्यक छ ।

३. विवेकशील पार्टी भित्रै रविन्द्र मिश्रले आफ्नो मान्यता स्थापित गराउन सक्थे तर गरेनन् । ’लौ गरिखाऊ ’भनेर पार्टी छोडेर हिँडेको देखियो । एउटा बनिबनाउ पार्टीमा सजिलो भन्ने सोच पनि आयो कि, भन्न सकिएन । विवेकशील पार्टीकी वर्तमान अध्यक्ष वौद्धिक क्षमताकी देखिन्छिन् । युवा र सम्भावना भएकी लाग्थ्यो तर पार्टी वौद्धिक क्षमता र उमेरको बलमा मात्र चल्दैन भन्ने कुरा उनले बुझिसकेकी हुनुपर्दछ ।

४. संगठन निर्माण, विस्तार र परिचालन छुट्टै विशिष्ट नेतृत्व कौशल र क्षमता हो । जस्तो, किसुनजी उच्च वौद्धिक क्षमताको धनी हुनुहुन्थ्यो, असाधारण प्रत्युत्पन्न मतिका, विनम्रता र निष्ठामा त्यस्तै तर उहाँमा संगठन कौशल थिएन । गिरिजाबाबुमा वौद्धिक स्तर भन्ने कुरै थिएन, पार्टीका स्थापित मूल्य र मान्यताका सवालमा पनि उहाँमाथि प्रश्न उठाउन सकिन्छ तर उहाँ कुशल संगठनकर्ता हुनुहुन्थ्यो । कार्यकर्तालाई परिवारको सदस्य जस्तै व्यवहार गर्नुहुन्थ्यो, सवैको सजिलो पहुँचमा हुनुहुन्थ्यो र असाधारण धैर्य प्रदर्शन गरेर कार्यकर्ताका कुरा सुन्नुहुन्थ्यो –त्यसैले अत्यन्त लोकप्रिय हुनुहुन्थ्यो । त्यसैकारण गणेशमानजी र किसुनजीको व्यापक असन्तोष, विरोध र पार्टी परित्यागको स्थितिमा पनि काङ्ग्रेसको संगठन र प्रभावमा खासै अन्तर आएन ।

५. विवेकशील साझा पार्टीमा सम्भवतः सवैभन्दा बढी पसिना बगाउने र देशमा सवैभन्दा परिचित नाउँ र अनुहार भएकोले पार्टीको लागि उनको छविको ठूलो रणनीतिक महत्व थियो –तर भित्रको कुरो उनीहरू नै जानुन् । सैद्धान्तिक रूपमा रविन्द्र मिश्र २०–२५ वर्ष अघि जे थिए –आज पनि त्यही छन् । पार्टीमा बहस हुन सक्थ्यो, वैचारिक र रणनीतिक सवालमा हुने मतभेदलाई सम्बोधन गर्ने विधिहरू थिए, अवलम्वन गरियो–गरिएन थाहा भएन । अझै बाटो होला, विवेकशील साझा पार्टीको वर्तमान नेतृत्वले रविन्द्र मिश्रलाई ससम्मान पुनर्स्थापना गराएर राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील पार्टीवीच सहकार्य र एकताको सम्भावना खोजियो भने मुलुकले एउटा राम्रो प्रजातान्त्रिक विकल्प पाउन सक्थ्यो कि ?

. एउटा उदार संवर्द्धनवादी प्रजातान्त्रिक ( लिबरल कन्जर्भेटिब डेमोक्रेटिक ) पार्टीको भविष्य नेपालमा छ । त्यो स्थान रिक्त छ र त्यो स्थान ज्यादै ठूलो छ । एउटा बलियो लिबरल कन्जर्भेटिब डेमोक्रेटिक ) पार्टीले मात्रै मुलुकको राजनीतिमा व्याप्त झूठ, भ्रम, अराजकता र अन्यौलको वातावरणलाई अन्त्य गर्न सक्छ । मुलुकमा विषाक्त र विभाजनकारी राजनीतिगर्ने गूट र समूहलाई निस्तेज पार्न पनि यो आवश्यक छ । राष्ट्र हित र जनताको वर्तमान र भविष्यको आवश्यकतालाई केन्द्रमा राखेर वार्ता, छलफलद्वारा सघन अन्तरक्रिया गर्दै जाँदा आजका राजनीतिक, सामाजिक र आर्थिक असहमतिहरू क्रमशः निष्कर्षमा पुग्छन् नै ।

७ . नेपाली काङ्ग्रेस मूल्यहीन र अनैतिक राजनीतिक अवसरवादमा हराउँदै जाने, राष्ट्रिय प्रजातन्त्र पार्टी कहिल्यै आन्तरिक रूपमा एउटा अनुशाशित र सिद्धान्तवादी पार्टीको स्वरूप ग्रहणनै नगर्ने अवस्थामा मुलुक र प्रजातन्त्र आज सवैभन्दा पीडित र उपेक्षित छ । गन्तव्यहीन विषाक्त वामपन्थ, जातीय घृणा र पृथकतावाद नेपाली राजनीतिको नियति बन्न पुगेको छ ।

८ . नेपाली काङ्ग्रेसलाई मूल्यहीन र सिद्धान्तहीन अवसरवादी राजनीतिक दलको रुपमा निरन्तर पतनको मार्गमा जानबाट रोक्न पनि एउटा बलियो प्रजातान्त्रिक विकल्प मुलुकले पाउनुपर्दछ र राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील पार्टीले संयुक्त रूपमा दिन सक्छन् । निरन्तर विवादको केन्द्रमा रहेका रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका शक्ति नै बनिरहन्छन् कि बन्दैनन् त्यो थाहा छैन तर राष्ट्रिय स्वतन्त्र पार्टी र मिश्र सहितको विवेकशील पार्टीले राष्ट्र र जनतालाई केन्द्रमा राखेर राजनीतिक एकता र सहमतिको वातावरण निर्माण गरे भने उनीहरू एउटा भरपर्दो प्रजातान्त्रिक विकल्प बन्न सक्छन् भन्ने लाग्दछ । त्यसो भएमा प्रजातान्त्रिक दल र दलहरूले मात्रै पनि मुलुकलाई सरकार दिने क्षमता राख्न सक्छन् ।

९. एउटा कुरा पक्का हो, काङ्ग्रेसको विकल्प कम्युनिस्ट र कम्युनिस्टको विकल्प काङ्ग्रेस रहुन्जेल देश अघि बढ्दैन । काङ्ग्रेसको विकल्प अर्को प्रजातान्त्रिक दल नहुनु नै आजको राजनीतिक सङ्कटको मूल कारण हो । प्रजातान्त्रिक दलको विकल्प साम्यवादी दल र साम्यवादी दलको विकल्प प्रजातन्त्रवादी दल हुने अवस्थाले मुलुकलाई दिने भनेको अहिलेकै अवस्था हो ।

Reporter