पत्रकारले बदलिँदो समयलाई आत्मसात् गर्दै सूचना प्रविधिमैत्री बन्न जरुरी – सञ्चार सचिव सुवेदी

38 Shares

काठमाडौँ, ७ चैत: सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले पत्रकारले बदलिँदो समय र परिवेशलाई आत्मसात् गर्दै सूचना प्रविधिमैत्री बन्न जरुरी रहेको खाँचो औँल्याउनुभएको छ ।

राष्ट्रिय समाचार समिति (रासस) ले आयोजना गरेको कर्मचारी सेवा प्रवेश अभिमुखीकरणको आज समापनका अवसरमा उहाँले आधुनिक सूचना प्रविधिको तीव्र विकासले सञ्चारमाध्यमलाई पनि रुपान्तरण गरेको छ भन्नुभयो ।

उहाँले भन्नुभयो, “राससको समाचार सेवालाई पनि आधुनिक सूचना प्रविधिमैत्री बनाउन जरुरी छ, मिडियामा पनि प्रविधि र काम गर्ने तौरतरिका परिवर्तन भएको छ । प्रविधि मात्रै नभएर अहिले सबै क्षेत्रमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) को प्रभाव छ । यो ‘मेनुअल’ काम गर्नेलाई चुनौती हो, अब, मेनुअल काम गर्नेले टेक्नोलोजीसँगै नहिँडे सुख छैन, त्यसैले तपाईंहरुले पनि आफूलाई सोही अनुरुप रुपान्तरण गर्नुपर्छ ।”

सचिव सुवेदीले समाचार अत्यन्तै संवेदनशील विषय भएकाले आम पाठक एवं सरोकारवालाको सर्वोपरि हितलाई ध्यानमा राखेर सचेत भई सत्यतथ्य, वस्तुनिष्ठ र सन्तुलित ढङ्गले समाचार सम्प्रेषण गरिनुपर्नेमा जोड दिनुभयो । “सूचना प्रवाह गर्दा ध्यान पु¥याइएन भने देश, समाज र जनतालाई हानि गर्छ । त्यसैले अत्यन्त संवेदनशील हुनुपर्छ । झुटा समाचारबाट बच्नुपर्छ । प्रतिस्पर्धाको अहिलेको समयमा समाचार प्रमाणीकरण गरी संवेदनशील भएर समाचार सम्प्रेषण गर्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो ।

सचिव सुवेदीले ज्ञान र सीपलाई मनोवृत्तिसँग परिणत गरेर सकारात्मक रुपमा पेसागत उच्च व्यावसायिकता र संस्थागत सुदृढीकरणमा समेत जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । उहाँले सीमित स्रोत, साधन र विविध चुनौतीबीच पनि राससले पछिल्लो चरणमा राम्रा र नतिजामुखी काम गरिरहेकामा प्रशंसा गर्दै आगामी दिनमा राससले गर्ने कामप्रति समन्वय र सहजीकरणका लागि मन्त्रालय सकारात्मक रहेको बताउनुभयो । सचिव सुवेदीले अभिमुखीकरणमा सिकेका ज्ञानलाई सकारात्मक सोचका साथ व्यवहारमा उतारेर संस्थागत विकासमा योगदान गर्न पनि आग्रह गर्नुभयो ।

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले दक्ष जनशक्ति र स्रोतसाधनको भरपुर उपयोग गर्दै राससको सेवालाई थप चुस्त र प्रभावकारी बनाउन सबै जिम्मेवार भएर लाग्नुपर्छ भन्नुभयो । उहाँले सञ्चारजगत्मा अनेकाँै चुनौतीसँगै प्रशस्त सम्भावना पनि रहेको जनाउँद आधुनिक सूचना प्रविधिको उच्चतम् प्रयोग गर्दै राससको सेवालाई सोही अनुरुप समयसापेक्ष बनाएर लैजाने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “पछिल्लो दिनमा राससको महत्व र सान्दर्भिकता दिनानुदिन बढ्दै गइरहेको छ, राससको सेवालाई पनि सोही अनुरुप थप प्रभावकारी बनाउन विभिन्न प्रयास गरिएको छ ।”

दुईदिने अभिमुखीकरणमा विभिन्न विषयमा विज्ञ एवं सरोकारवालाले प्रशिक्षण दिनुभएको थियो । सरकारी सञ्चारमाध्यममा अवसर र चुनौती विषयमा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागार्इं, सार्वजनिक प्रशासन र सञ्चार विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव रमेश पाण्डेयले प्रस्तुति दिनुभयो ।

त्यसैगरी, राससका कार्यकारी अध्यक्ष झाले राससको समग्र अवस्था र गरिएका कामबारे अवगत गराउनुभएको थियो । महाप्रबन्धक सिद्धराज राई, नायब महाप्रबन्धकत्रय राजु शाक्य, श्यामप्रसाद रिमाल र सोमनाथ लामिछाने, रासस सञ्चालक समिति सदस्यद्वय कृष्ण अधिकारी र डिल्लीराम भट्टराई, राससका प्रमुख समाचारदाता उत्तम सिलवाल, राससका प्रशासन प्रमुख शीतलप्रसाद महतो र लेखाप्रमुख रुद्रमणि अधिकारीले सेवाबारे प्रस्तुतिसहित प्रशिक्षित गर्नुभएको थियो ।

सम्बन्धित समाचार

सबै