ओलीलाई सुमनाको प्रश्नः के विदेशसँग कुनै सम्बन्ध हुँदैमा मान्छे देशद्रोही भै हाल्छ ?

काठमाडौं । शिक्षामन्त्री सुमना श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध दिएको अभिव्यक्ति आफूमात्र नभई अध्ययनका लागि विदेश जाने आम महिलाविरुद्ध भएको बताएकी छन् ।

बुधबार सामाजिक संजालमार्फत मन्त्री श्रेष्ठले भनेकी छन्, ‘देख्दा त्यो केवल एकजना सुमना श्रेष्ठको लागि हो भन्ने देखिएला तर त्यसले मजस्तै जो सानै उमेरमा राम्रो अध्ययनको अवसर लिन बाहिरिन्छ, जो कमाउन बाहिरिन्छ, ती सबै प्रति लक्षित हो । यसैले म आग्रह गर्छु, त्यस्तो सोच जोसुकैबाट आओस्, त्यसका विरूद्धमा रहन आवश्यक छ । भन्नै पर्छ कि यो हाम्रो समय हो, जुन जस्तो अवस्था भए पनि हरेक नागरिकको सम्मानको समय हो । त्यसले “नेपाल जान्छु र केही गर्छु“ भन्नेहरूलाई निरूत्साहित हुनबाट जोगाउँछ । देश कुनै अमुक नेताहरूको कैदमा मात्रै छ र उनीहरूको मर्जीबिना देशमा पात पनि हल्लिदैन भन्ने धारणा फेरिन सक्छ । साँच्चै नै ब्रेन गेन हुन पुग्छ ।’

यस्तो छ सुमना श्रेष्ठको धारणा

विदेशमा पढ्न वा रोजगारीका लागि कोही पनि नगएको परिवार खोज्न कतिको सहज छ ? पक्कै छैन । अवस्था कस्तो छ भने नागरिकतामा उमेर बढाएर किशोर/किशोरीहरू विदेशिदैँछन् भन्ने सुन्दा नपत्याउने आधार छैन । साह्रै ठूलो संख्यामा युवाहरू विदेशमा छन् । आफ्नो गच्छेले सकेको ठाउँमा पुगेका हुन्छौँ । विदेशमा सहजताका लागि लामो समयको भिसा, पिआर वा नागरिकता जस्ता कागजात लिएका हुन सक्छन् । विदेशमा प्रेम होला, बिहे होला ।
कतिले विदेश पुगे पछि मात्र नेपाली समाजको गुणहरू बुझ्छन्, आफ्नो जरा नेपालमा भएको महसुस गर्छन् । विभिन्न कारणले विदेश पुगेकाहरू धेरैको मनमा परिस्थिति मिले नेपाल नै फर्किएर यहाँ नै समृद्ध र सहज जीवन जिउने चाहना हुन्छ । स्वयम् नेपाल राज्यले नै त्यस्ता मानिसहरू नेपाल भित्राउने सोच राखेको नीतिहरू भेटिन्छन् । ब्रेन गेन, एनआरएनको नागरिकता जस्ता कार्यक्रमहरू त्यसकै लागि हुन् ।

तर, जब त्यस्ता मानिसहरू नेपाल फर्किन्छन्, फर्किदा पैसा बाहेक सबै कुराले रित्तो भएर आउन् भन्ने यहाँ राजनीतिमा जमेर बसेकाहरूलाई लाग्दो रहेछ । यहाँ आएर राजनीतितिर नहेरून्, उनीहरूको शक्ति र बर्षौँदेखि जमाएर गरिरहेको राजनीतिक पेसामा प्रतिस्पर्धा नबढाउन्, उनीहरूको हो मा हो भन्ने कार्यकर्ता बनून् भन्ने अभिष्ट राख्दा रहेछन् । यो ‘तँ बसेर आएको देश हो र नेपाल पो हो’ भनेर हरेक कुरामा सम्झौता गरोस् भन्ने अपेक्षा हुँदोरहेछ । कर्मचारीतन्त्र र यहाँका पेशाकर्मीहरू पनि विदेशमा पढेकाहरूलाई प्रतिस्पर्धी मात्र देख्दारहेछन्, अहिले पौडिरहेको सानो पोखरीमा आफ्नो कब्जा रहिरहोस् भन्ने ध्येय हुनेरहेछ, उनीहरुको सीप र लगनले पोखरी नै ठूलो हुन सक्ने देख्दैनन् ।

महिलालाई हेर्ने मानसिकता विकराल छ र झनै बढी प्रहार हुने रहेछ । ‘समाजको नियम’ भनेर के लगाउने, के बोल्ने हरेक कुरामा लक्ष्मण रेखा कोरिदिने र त्यहीभित्र बसोस् भन्ने सोच हुनेरहेछ, यही भएर होला प्रायः हाम्रा बहिनी छोरी विदेशबाट फर्कन खोज्दैनन्। अनि बिहे भएपछि जन्मेको घरप्रति कुनै जिम्मेवारी हुँदैन ? श्रीमान् को पहिचान बाहिर नारीको आफ्नो पहिचान हुँदैन ? के विदेशसँग कुनै सम्बन्ध हुँदैमा मान्छे देशद्रोही भै हाल्छ? अहिलेसम्म पुस्तौदेखि नेपालमै बसेका, नेपालीसँगै विवाह गरेकाहरूले चलाएको देश हो यो, यही कारणले मात्र उत्पात विकास हुने रहेछ त ? हामीले लडेर ल्याइदिएको अधिकारको मज्जा लिइरहेको छौ भनेर नथाक्नेहरू नै त्यसको उपयोग गर्दा भने भड्किन पुग्छन् । यसको पछिल्लो उदाहरण समाजका अगुवाको अभिव्यक्ति हो । देख्दा त्यो केवल एकजना सुमना श्रेष्ठको लागि हो भन्ने देखिएला तर त्यसले मजस्तै जो सानै उमेरमा राम्रो अध्ययनको अवसर लिन बाहिरिन्छ, जो कमाउन बाहिरिन्छ, ती सबै प्रति लक्षित हो ।

यसैले म आग्रह गर्छु, त्यस्तो सोच जोसुकैबाट आओस्, त्यसका विरूद्धमा रहन आवश्यक छ । भन्नै पर्छ कि यो हाम्रो समय हो, जुन जस्तो अवस्था भए पनि हरेक नागरिकको सम्मानको समय हो । त्यसले ‘नेपाल जान्छु र केही गर्छु’ भन्नेहरूलाई निरूत्साहित हुनबाट जोगाउँछ । देश कुनै अमुक नेताहरूको कैदमा मात्रै छ र उनीहरूको मर्जीबिना देशमा पात पनि हल्लिदैन भन्ने धारणा फेरिन सक्छ । साँच्चै नै ब्रेन गेन हुन पुग्छ ।

सम्बन्धित समाचार

सबै