स्वदेशमा उत्पादन हुन सक्ने वस्तुको आयात निरुत्साहित गर्ने नीति ल्याउछौ – गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्वदेशमा उत्पादन हुन सक्ने वस्तुको आयात निरुत्साहित गर्ने नीति ल्याउने तयारी गरिएको बताएका छन् । मुलुकमा व्यापार घाटा बढिरहेको बेला नेता थापाले यस्तो कुरा गरेका हुन् ।
सोमबार फेडरेसन अफ नेपाल एक्सपोर्ट एसोसिएशनका अध्यक्ष पवनकुमार गोल्यानले थापालाई नीतिगत सुधार गनुपर्ने विषयमा लिखित अनुरोध पेश गरेको छ । सोही क्रममा उनले सरकारले आयात प्रतिस्थापन गर्दै स्वदेशी उद्योग संरक्षणको नीति लिने र त्यसको लागि कांग्रेसले पहल गर्ने बताए । उनले भने – ‘स्वदेशमा उत्पादन गर्न सकिने वस्तुको सूची तयार गरेर आयात निरुत्साहित गर्नुपर्ने छ’ उनले थपे – ‘सरोकारवालासँग छलफल गरेर नीतिगत निर्णय गर्न पहल गर्छौं ‘
नेता थापाले आगामी बजेटमा राख्नुपर्ने विषयमा विभिन्न पक्षसँग छलफल गर्ने काम भइरहेको पनि बताए । थापाले कांग्रेसले लिने नीतिको बारेमा पनि व्यवसायीसँग सुझाव पनि लिएका छन् ।
यस्तै उनीहरुले निर्यात वृद्धि गर्ने र आयात प्रतिस्थापन गर्ने नीति बनाउन माग पनि गरेका छन् । यस्तै निर्यातजन्य उद्योगको विकास गरी निकासीलाई प्रवद्र्धन गर्ने नीति ल्याउन पनि आग्रह गरेका छन् ।
नेता थापालाई बुझाएको मागपत्रमा सरकारले जैविक कृषि उपजलाई प्राथमिकता दिने नीति अवलम्वन गर्नुपर्ने, उच्च दरमा आयात महसुल तथा एन्टी डम्पिङ करको व्यवस्था गर्नुपर्ने, दुर्गमस्थानमा उत्पादन भएको कृषि उपज तथा वन पैदावारमा ढुवानी अनुदानको व्यवस्था गर्नुपर्ने, बजारीकरणको व्यवस्था गर्न माग गरिएको छ ।
यस्तै उनीहरुले जडिबुटी उद्योग स्थापना गर्न प्रोत्साहिन गर्न, शीत भण्डारको स्थापना गर्नुपर्ने, सहुलियतपूर्ण ब्याजदरमा कर्जा प्रदान गर्ने व्यवस्था हुनुपर्ने, अनुदान नगदको रुपमा नदिई वस्तुको रुपमा नै दिने व्यवस्था गर्नुपर्ने, निर्यातमा उपयुक्त रुपमा अनुदान दिनुपर्ने, नेपाली पहिचानको टे«डमार्क दर्ता गर्नुपर्ने, नेपाल जडिवुटी विकास वोर्ड गठन गनुपर्ने माग गरेका छन् ।