शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्दमा लगातार २ दिनमा २ जनाको कलेजो प्रत्यारोपण

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्दमा लगातार २ दिनमा २ जनाको कलेजो प्रत्यारोपण

भक्तपुर, २२ चैत : शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले दुई जनाको सफल कलेजो प्रत्यारोपण गरिएको छ । अस्पतालका कार्यकारी निर्देशक एवं प्रत्यारोपणविद् डा. पुकारचन्द्र श्रेष्ठ र भारतको दिल्लीस्थित म्याक्स हस्पिटलका डा. शलिन अग्रवालको नेतृत्वको टोलीले यहीँ चैत २० र २१ गते दुई जनाको कलेजो प्रत्यारोपण गरेको हो ।

केन्द्रमा २० गते आइतबार किर्तिपुरका ४६ वर्षीय इच्छाकुमार महर्जन र २१ गते सोमबार झापाका ५१ वर्षीय रामचन्द्र वलीको कलेजो सफल रुपमा प्रत्यारोपण गरेको केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले जानकारी दिनु भयो । महर्जनलाई उहाँकै पत्नी ४३ वर्षीया ज्ञानी शोभा महर्जनले र वलीलाई उहाँको १९ वर्षीया छोरी सुमित्रा वलीले कलेजो दिनु भएको हो ।

प्रत्यारोपण गरिएका दुबै जना कलेजो प्रत्यारोपित तथा दाताहरुको स्वास्थ्य अबस्था सामान्य रहेको उहाँले जानकारी दिनु भयो । केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले भन्नुभयो, “प्रत्यारोपणका जटिल शल्यक्रियाका लागि अत्याधुनिक सुविधाले सम्पन्न यस केन्द्रमा न्यूनतम शुल्कमा कलेजो प्रत्यारोपण हुने गरेको छ, आगामी महिनादेखि प्रत्येक महिना कम्तीमा दुई जनाको कलेजो प्रत्यारोपण नियमित रुपमा गर्ने तयारी गरेका छौँ ।”

कलेजो प्रत्यारोपणमा शल्यक्रिया गर्ने नेपाली टोलीमा सर्जनहरु डा. प्रदेज सापकोटा, डा. क्षेतेन योञ्जन तामाङ्ग, डा. अनिषा तिवारी, डा. ललितकुमार दास, कलेजो फिजिसियन डा. कर्ण राजवंशी, एनेस्थेसिया तथा क्रिटिकल केयरमा डा. आरती राई, डा. निभा श्रेष्ठ, डा. रेखा श्रेष्ठ, डा. रश्मित श्रेष्ठ, डा. शिवसुन्दर राजचल, डा. सुमन एवं रेडियोलोजी विभागको नेतृत्व डा. कृष्ण बुढाथोकी र कोपिला दाहाल नेतृत्वको नर्सिङ्ग टोलीमा बबिता लवजु, अनिता कार्कीलगायतको संलग्नता रहेको थियो ।

नेपालमा पहिलो पटक वि.सं. २०७२ मङ्सीरमा कलेजो प्रत्यारोपणको यहीँ केन्द्रबाट सुरु गरिएकोमा अहिलेसम्म आठ जनाको कलेजो प्रत्यारोपण सफल भएको उहाँले जानकारी दिनु भयो । कलेजो प्रत्यारोपण गरिएका मध्ये सात जना स्वस्थ्य व्यक्तिबाट र एक जना मस्तिष्क मृत्यु भएको व्यक्तिबाट कलेजो दान दिइएको थियो । सरकारले मिर्गौला प्रत्यारोपण निःशुल्क गरे जस्तै कलेजो प्रत्यारोपणमा पनि सहुलीयतको व्यबस्था गरिदिए कलेजो फेल भएका धेरै विरामी लाभान्वित हुने उहाँको भनाइ छ ।

nepalone