नारायण गाउँले ।
पश्चिमतिर धन हुनेले दिल खोलेर खर्च गरेको राम्रो मानिन्छ । खर्च हुने धन सरकारी ट्याक्सदेखि सेवा र उत्पादन बेच्ने आम मान्छेसम्म कुनै न कुनै रूपले वितरण हुन्छ । धन जति तरल हुन्छ र खर्च हुन्छ, अर्थतन्त्र त्यति नै चलायमान र सबल हुन्छ ।
पार्टी प्यालेसमा हुने एउटा भव्य पार्टीमा खर्च भएको पैसा दूध या गोलभेडा उत्पादन गर्ने कृषकदेखि बाजा बजाएर संस्कृति र जीविका बचाउनेसम्म पुगेको हुन्छ । नसक्नेले नगर्ला, गर्न उपयुक्त नहोला, तर सक्नेले पनि गरेन भने त्यसले धेरैलाई असर गर्छ । धन खर्च नभई एक ठाउँमा जम्मा भयो भने मन्दी शुरू हुन्छ । आर्थिक मन्दी भनेको पैसा नहुनु होइन । पैसा त हिजो जति थियो, त्यो छँदै छ । हुने र सक्नेले खर्च नगर्ने अवस्था नै मन्दी हो ।
निश्चित सीमासम्म मात्रै धनीले धनको निजी प्रयोग गर्ने हो । अलिकति माथि उठेपछि त्यो कागज र अङ्कमात्रै हो । त्यसको प्रयोग गर्ने त बजार र हामीले नै हो । इलन मस्कÞको सम्पत्ति दिनहुँ एक खर्ब रुपियाँभन्दा धेरैले तलमाथि भइरहेको हुन्छ । मिनेटमैं करोडौं रुपियाँ घट्ने र बढ्ने हुन्छ । त्यो धनको निजी उपयोगले हुने होइन । हामीले खर्बपति मानेका विनोद चौधरी खर्बको बिटोलाई शिरानी बनाएर सुत्ने होइन । त्यो खर्ब उद्योगको रूपमा, व्यवसायको रूपमा, लगानीको रूपमा जमीनमैं हुने हो । त्यसको रस कामदार, म्यानेजर, सप्लायर, विक्रेता, ब्याङ्कर, उत्पादक या उपभोक्तासम्मले लिने हो । त्यो पैसा लगानी नभई, बजारमा नआई, रोजगारी सिर्जना नगरी, आर्थिक गतिविधि वृद्धि नगरी र रसको भागबण्डा नगरी बढ्नै सक्दैन । इलन मस्कको नाममा भएको बिलियन–बिलियन डलरको रस अमेरिकादेखि चाइना र जर्मनीसम्मका विशाल फ्याक्ट्री र त्यसका कामदारसम्म भिजेको हुन्छ । हामी गरिबको धन मकैको बोटजस्तो हुन्छ । जरा धेरै भए पनि सजिलै उखेलिने । पहाड गए पहाड जाने, मधेस झरे मधेस झर्ने । तर धनीको धन पीपलको बोटजस्तै हो । त्यो सजिलै उखेलिन्न । त्यसमा चरादेखि कीटपतङ्ग र यात्रीदेखि घाँसदाउरा गर्नेसम्म धेरैले सहारा लिन सक्छन् ।
पश्चिमतिर सरकारको नीतिगत ध्यान नै हुनेले खर्च गर्ने वातावरण मिलाउनतिर केन्द्रित हुन्छ । पूँजी ’बगाउन’तिर हुन्छ । बग्यो भने निम्न वर्गसम्म पनि आइपुग्छ भन्ने तर्क हुन्छ । र सबैभन्दा धेरै खर्च मुख्य चाडबाडकै वरपर हुन्छ । त्यतिबेलाका आर्थिक सूचकहरू अर्थतन्त्रका लागि धेरै महत्त्वपूर्ण मानिन्छन् । युरोपमा क्रिस्मश आउनु एक डेढ महिनाअघि देखि नै साजसज्जा, क्रिस्मश डिनर, क्रिस्मश पार्टी जस्ता गतिविधि सुरु हुन्छन् । सरकारी निकायले पनि साजसज्जामा ठूलो खर्च गर्छन् । सडक र अफिसहरू सिँगारिएका हुन्छन्, पसलहरू भरिभराउ हुन्छन् । अझ ठूलो स्केलमा व्यापार हुने र थोरै मुनाफा राखे पनि कुल नाफा बढ्ने भएकाले खाद्य सामग्री अरूबेला भन्दा सस्तो र सुलभ हुन्छ । एक महिनाअघि नै मान्छेले बजारबाट क्रिस्मश–ट्री किनेर घरमा सजाउँछन् । आफन्त र इष्टमित्रलाई गिफ्ट किनेर बाँड्ने चलन हुन्छ ।
हाम्रो सोच र परिस्थिति अलग छ । हामी सबै धनी बन्न त चाहन्छौं, तर धनी मान्छेहरू प्रति हाम्रो दृष्टिकोण सकारात्मक छैन । ती हाम्रै खून चुसेर धनी भएका हुन् भन्ने हाम्रो सोच छ, स्कुलिङ छ । छिमेकी धनी भएकै कारण हामी गरिब भएको जस्तो हाम्रो सोच छ । नाफा र कमिशन शब्दप्रति हामी कति ‘निगेटिभ’ छौं भन्ने सबैलाई थाहा नै छ । धनी हुने भनेको पूँजी, सिप र आइडियालाई बजारमा उतारेर हो । पूँजी बजारमा उत्रिनु भनेकै धेरैसम्म पुग्नु हो । अपवादबाहेक कोही मान्छे एक्लै धनी हुनै सक्दैन । ऊसँगसँगै प्रत्यक्ष–अप्रत्यक्ष धेरै मान्छे धनी हुन्छन् । रोजगारी पाउनु पनि धनी हुनु हो ।
अझ खर्च गर्ने धनीहरू त समाजका दुश्मन नै हुन् जस्तो हाम्रो सोच छ । एउटा अर्बपति मान्छेले सय रुपियाँ खर्चेर बिहे गर्यो भने त्यो हाम्रो लागि आदर्श भयो । उसले करोड़ खर्च गर्यो भने त्यो समाजको तारो भयो । उसो त कन्जूस भन्ने शब्द पनि हाम्रै हो फेरि । खुला समाज भने पनि हाम्रो समाज बन्द खाले नै हो । तास र खोड़खोडे खेल्नसमेत सरकारको अनुमति चाहिने खाले । सरकारले जन्ती र दक्षिणा तोक्ने समाज हो हाम्रो । आमसभामा लाख मान्छे गाडी चढेर जान र मासुभात खान हुने तर जन्ती जान नहुने, त्यो पनि नेताका लागि लागू नहुने समाज हो हाम्रो ।
मान्छेले खर्च गर्ने भनेकै लाउने र खानेमा हो । त्यसैमा हाम्रो राष्ट्रिय आपत्ति छ । बजारमा पैसा आउने नै यसैबाट हो । तीजमा तडकभडक र खर्च गरेको भेटिए निगरानी र कारबाही गरिने सरकारले चेतावनी नै दिएको छ । यद्यपि कुन खर्च या नाचगान तडकभडक हो र कुन होइन भन्ने स्पष्ट कानुन छैन ।
देउसी भैलोमा त यतिभन्दा बढ़ी दिन नपाइने, यति बजेभन्दा उता खेल्न नपाइने, यतिभन्दा बढी मान्छे जम्मा भएर खेल्न नपाइने जस्ता कड़ा कानुन बन्छन् । मान्छेले चाडबाड आफूखुसी मनाऊन्, नाचून्, रमाऊन् अनि सक्नेले खर्च गरून् र नसक्नेका लागि सरकारले व्यवस्था गरोस् भन्ने हाम्रो सोच छैन ।अझ दुःखलाग्दो त के छ भने चाडबाड आउनेबित्तिकै हामी एकाएक समाजवादी चिन्तक बनेर निस्किन्छौं । आर्थिक–सामाजिक र सांस्कृतिक विश्लेषक बनेर देखा पर्छौं । खानपान र रहनसहनदेखि चाडको गरिमामाथि नै अपमानजनक टिप्पणी गर्छौं !
मुश्लिम बहुल देशमा ईदको, क्रिश्चियन बहुल देशमा क्रिस्शको विरोध गरेको, लाखौं बाख्रो किन मारेको, लाखौं टर्कीको किन हत्या गरेको जस्तो प्रश्न उठेको सुनिन्न । मनाउनेहरू मनाउँछन्, खाने या पिउनेहरू पिउँछन्, अल्छी गर्नेहरू चुपचाप घरमैं बस्छन्, बजारबाट आलु किनेर खान्छन् तर हामीजस्तो भयङ्कर समाज र पर्व सुधारक बनेर देखा पर्दैनन् । महिना दिन लामा र कडा उपवास हुन्छन् ती धर्ममा पनि । दिनभर पानीसमेत नपिई उपवास हुन्छ । तर कसैले स्वास्थ्य, मानवअधिकार या औचित्यबारे प्रश्न गर्दैन । गर्नेले उपवास गर्छ, नगर्नेले हल्ला नगरी चुपचाप खान्छ । तीजको एक दिन व्रत पनि हाम्रो लागि विद्वता देखाउने र भडास पोख्ने विषय बन्छ । हामी जेमा पनि असन्तोष र खोट मात्रै देख्ने दुःखी प्राणी त भएनौं ?