काठमाडौं । युट्युव च्यानल ह्याक हुने समस्या नौलो होइन ।बेलाबखत ठूला-ठूला युट्यव च्यानल ह्याक भएको समाचार आइरहेको हुन्छ । नेपालमा चर्चित मानिएका युट्युब च्यानल ह्याक हुनु भने नौलो कुरा होइन । यसअघि एपीवान एचडी, चर्चित र्‍यापर भिटेन लगायत अन्य विभिन्न संस्थाका युट्युब च्यानल ह्याक भएका थिए ।  यी ठूला कम्पनीहरूमा प्राविधिक टिमको सहभागिता हुँदा हुँदै पनि ह्याक हुने समस्या आइरहनु यसको गम्भीर पक्ष हो । विगत केही वर्षदेखि नेपालका चर्चित युट्युव च्यानलहरू ह्याक भइरहेका छन् । चैत १७ गते नेपालको सबैभन्दा बढी सब्सक्राइबर हुने च्यानलमध्ये एक बुढासुब्बा डिजिटल ह्याक भएको थियो । साथै चर्चित युट्युब च्यानल ‘ओएसआर डिजिटल ’ पनि ह्याक भएको छ । ह्याक भएसँगै च्यानलमा रहेका भिडिओ सामग्री गायब भएका छन् भने नाम उही नै छ । ह्याकरले ओएसआर डिजिटलको आधिकारिक लोगो हटाएर अर्को लोगो राखेका छन् ।  ह्याक गरिसकेपछि ह्याकरले बुढासुब्बा डिजिटल च्यानलको नाम परिवर्तन गरेर ‘इथेरियम’ राखेका थिए । ह्याकरले यो च्यानल आफ्नो नियन्त्रणमा लिएर प्रतिबन्धित क्रिप्टोको लाइभ प्रसारण गरेका थिए । ह्याक कसरी भयो भन्ने कुरा हालसम्म बाहिर आइसकेको छैन ।

हाल बुढासुब्बा डिजिटल, ओएसआर डिजिटल  फिर्ता आइसकेको छ । त्यसमा परिवर्तन भएका नाम, डिस्क्रिब्सन् सबै पहिलेकै अवस्थामा आइसकेका छन् भने हाइड भएका सामाग्री पनि पुनः सार्वजनिक भएका छन् ।

ह्याकरले युट्युव च्यानल कसरी ह्याक गर्छन् भन्ने कुरा । ह्याकरहरू युट्युव च्यानल ह्याक गर्ने धेरै प्रकारका विधि अपनाउने गर्छन् । जसमा सबैभन्दा प्रभावकारी विधि सोसल इन्जिनियरिङलाई मानिन्छ ।

प्रायः ह्याकरहरू यही विधि अपनाएर च्यानल ह्याक गर्ने गर्छन् । सोसल इन्जिनियरिङ एउटा यस्तो माध्यम हो, जहाँबाट ह्याकरले प्रयोगकर्तालाई नै प्रयोग गरेर उनीहरूको संवेदनशील जानकारी लिने गर्छन् ।

ह्याकर युट्युवरको आवश्यकतालाई मध्यनजर गर्दै सोही अनुरूपका अफरहरू दिन भरपर्दो देखिने साइट निर्माण गर्छन् ।

युट्युवरलाई विज्ञापन दिने बहाना, उनीहरूको एप प्रचार गरिदिएबापत मोटो रकम दिने आश्वासन वा अन्य कुनै आर्थिक प्रलोभनमा पारेर  होस्, ह्याकरहरू प्रयोगकर्तालाई ईमेलमार्फत डेटा लिने लिंक पठाउँछन् र च्यानल कब्जामा लिन्छन् ।

कोही पैसाको प्रलोभनमा नपर्ने संस्था वा व्यक्तिको च्यानल ह्याक गर्नपरे उनीहरू त्यसबाहेकका अन्य उपाय अपनाउँछन् ।  विशेषगरी कसैको व्यक्तिगत च्यानल ह्याक गर्नपरे ह्याकरहरू उनीहरूको आफ्नो एपको प्रचार गरिदिए बापत मोटो रकम दिने आश्वासन देखाउँछन् ।

यदि एकपटक सो एप कम्प्युटर वा स्मार्टफोनमा आइसकेपछि सो एपले प्रयोगकर्ताको सम्पूर्ण जानकारी जस्तै सेभ गरेका पासवर्ड, कुकिज सबै ह्याकरको डेटाबेसमा पठाउँछ ।

त्यसपछि ह्याकरले ह्याक भएका च्यानल रिब्राण्डको प्रक्रिया अघि बढाउँछन् । युट्युव च्यानल हाम्रै कारणले ह्याक हुने भएकाले यसमा विशेष ध्यान दिनपर्छ । अनावश्यक लिंक खोल्नु हुँदैन ।

युट्युव च्यानल भएको जिमेल अकाउन्ट सुरक्षित राख्ने गर्नुपर्छ । कुनै पनि शंकास्पद साइटमा लगईन गर्दै नगर्ने, यदि गर्नपरे डिस्पोजएबल ईमेल प्रयोग गर्नुपर्ने हुन्छ ।